अविरल वर्षा, बाढी तथा पहिरोले देशका प्रमुख राजमार्ग ठप्प पारेको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध छन्। केही संवेदनशील सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।
बागमती प्रदेशको सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका-२ लिपिङमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक बाढीले ठप्प पारेको छ।
उच्च जोखिमका कारण बागमती प्रदेशका तीन सडकमा रात्रिकालीन यात्रामा रोक लगाइएको छ। वि.पि. राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी निषेध छ। दिनमा पनि जोखिम हेरेर मात्रै सञ्चालन गर्न दिइएको छ।
कान्तिलोकपथको हेटौंडा-ठिङ्गन-बागमती-ललितपुर खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी रोकिन्छ। टोखा-छहरे सडक खण्डको नुवाकोट शिवपुरी-८ घट्टेखोलामा राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
कोशी प्रदेशको मेची राजमार्गअन्तर्गत ईलाम नगरपालिका-९ राजदुवालीमा झापा-ताप्लेजुङ सडक खण्ड अवरुद्ध छ। वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ।
मध्य पहाडी लोकमार्गको भोजपुर नगरपालिका-५ बोखिममा बाढीले सडक अवरुद्ध पारेको छ। वैकल्पिक मार्गसहित सडक एकतर्फी सञ्चालनमा छ।
गण्डकी र कर्णाली प्रदेशका सडकहरूमा पनि अवरोध छ। कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरोले सडक एकतर्फी मात्र सञ्चालनमा छ। प्रहरीका अनुसार दुईतर्फी खुलाउन समय लाग्नेछ।
कर्णाली प्रदेशको जाजरकोट-डोल्पा सडक खण्डको रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा बाढीले यातायात पूर्ण रूपमा बन्द गरेको छ।
प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ। यात्रु र चालकहरूलाई यात्राअघि सडकको अवस्था बुझ्न र जोखिमयुक्त सडकमा सावधानी अपनाउन आग्रह गरिएको छ।
