हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीले डाँफे आधारभूत विद्यालय बगाएको छ।
६ जेठमा आएको असिना–पानीसहितको बाढीले खेतीयोग्य जग्गा र गोठहरू पनि बगाएको छ।
चंखेली गाउँपालिका–५ का बासिन्दा छक्कबहादुर तामाङले क्षति पुष्टि गरे। वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पहिरोले पुरेको छ।
पुरिएका गोठबाट भेँडाबाख्रामा क्षति पुगेको छ। क्षतिको एकिन विवरण भने आउन बाँकी छ।
वडाध्यक्ष हर्कधन तामाङले मानवीय क्षति नभएको अनलाइनखबरलाई बताए। उनी गाउँपालिका केन्द्रबाट थप विवरण बुझ्दैछन्।
बाढीले गाउँको कोदो खेती हुने धेरै जग्गा तहसनहस पारेको छ। रातिको घटनाले पूर्ण विवरण संकलनमा कठिनाइ भएको छ।
मेल्छाम प्रहरीचौकीको टोली आज बिहान घटनास्थल प्रस्थान गरेको छ। प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले नेप्का दुर्गम भएकाले पूर्ण विवरण आउन समय लाग्ने बताए।
प्रजिअ रेग्मीले स्थानीय र प्रहरीमार्फत् क्षतिको विवरण बुझ्दैछन्। नेप्का गाउँ हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा पर्ने चंखेली गाउँपालिका–५ मा पर्छ।
गाउँमा मोटर गुड्ने सडक छैन। गाउँपालिका केन्द्रसम्म पुग्न पाँच घण्टा पैदल हिँड्नुपर्छ।
