भारतीय प्रधानसेनापति जनरल धिरज सेठ चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
प्रधानमन्त्री बालेन शाहको कार्यकालमा भारतबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो। जनरल सेठले आफ्नो पहिलो विदेश भ्रमणका रूपमा नेपाललाई रोजेका हुन्।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा नेपाल आएका जनरल सेठले भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह, प्रधानसेनापति सिग्देल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
सन् १९५० देखि चल्दै आएको परम्परा अनुसार, भारतीय प्रधानसेनापतिलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिनेछ। यसै क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन्।
सन् २०८१ मंसिर २७ गते भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति अशोकराज सिग्देललाई भारतको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।
जनरल सेठले सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जली अर्पण गर्ने र सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति सिग्देलसँग आपसी सहयोगका विषयमा दुईपक्षीय छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।
