जनकपुरधामका स्थानीय अगुवा जितेन्द्र महासेठले लोकआस्थाको महान् पर्व छठले भौगोलिक दूरी मेट्दै सिङ्गो राष्ट्रलाई जोडेको बताएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको जनकपुर आगमनप्रति सामाजिक सञ्जालमार्फत विशेष आभार व्यक्त गरे।
महासेठले आफ्नो फेसबुक पोस्टमा रास्वपा अध्यक्ष लामिछानेको उपस्थिति र छठप्रतिको सम्मानले यस पर्वको व्यापकता र महत्वलाई थप उचाइ दिएको उल्लेख गरेका छन्। उनले छठ पर्वले सांस्कृतिक ऐक्यबद्धताको नयाँ आयाम थपेको जनाए।
महासेठका अनुसार राष्ट्रिय व्यक्तित्वहरूको जनकपुरधाम आगमनले यस पवित्र पर्वको महत्व र सुगन्धलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै अझ प्रगाढ र बलियो बनाएको छ। उनले विविधतामा एकता नै राष्ट्रिय पहिचान भएको भन्दै मिथिलाको सभ्यता, संस्कृति र ऐतिहासिक विरासतलाई भावी पुस्तामा हस्तान्तरण गर्नु साझा दायित्व भएको स्मरण गराए।
यसअघि एनएमखबरले जनाएअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरमा छठ पर्वको खरना विधि मनाएका थिए।
जनकपुर छठ: राष्ट्रिय व्यक्तित्वको सहभागिताले महत्व बढ्यो
मधेसको सांस्कृतिक पर्व जनकपुर छठले राष्ट्रिय व्यक्तित्वहरूको सहभागिताले थप महत्व पाएको छ।
महासेठले ‘विविधतामा एकता नै मुलुकको मूल मन्त्र’ भन्ने उद्देश्यका साथ जनकपुरधाममा पाल्नुभएका माननीय रवि लामिछाने लगायत सम्पूर्ण व्यक्तित्वहरू र व्यवस्थापनमा सहयोग गर्ने सबैलाई व्यक्तिगत तथा सम्पूर्ण जनकपुरवासीको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।