मधेसको राजधानी जनकपुरधाम फोहरको डङ्गुर र दुर्गन्धले कुरुप बनेको छ। दैनिक हजारौँ भक्तजन भगवान् राम र माता जानकीको दर्शन गर्न आउने गर्छन्। भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य छ।
सहरका चोक र सडक किनारमा फालिएका फोहरले पर्यटकहरू नाक छोप्न बाध्य छन्। यसले पर्यटकको बसाइ छोट्याउँछ। फोहर बढेसँगै लामखुट्टेको प्रकोप पनि बढेको छ। जानकी चोक, अस्पताल रोड, मुरली चोक, पिडारी चोक, रामानन्द चोक, जनक चोक, भानुचोक लगायतका मुख्य चोकहरूमा फोहरको थुप्रो छ। भित्री सडकहरूको अवस्था झनै भयावह छ।
जनकपुर–१० का संजय कुमार कर्णका अनुसार यो समस्या वर्षौं पुरानो हो। उपमहानगरपालिकाले सवारी साधन र कर्मचारी परिचालन गरे पनि समस्या समाधान भएको छैन। ‘जबसम्म नागरिकले नैतिक आचरण सुधार गर्दैनन्, तबसम्म जनकपुरबाट यो समस्या हट्नै मुस्किल छ,’ उनले भने, ‘मानिसले घरको फोहर जुनसूकै समयमा बाहिर फालिदिन्छन्।’
उनले वडा कार्यालयबाट फोहर सङ्कलन गर्न ट्र्याक्टर र सफाइकर्मी निश्चित समयमा आउने गरेको बताए। ‘ट्रयाक्टर आएको समयमा घरको फोहर दिएमा सहर सफा हुन्छ,’ उनले भने, ‘अघिपछि सडकमा फाल्ने नगर्दा फोहर नै हुँदैनथ्यो।’
जनकपुरधामको फोहर व्यवस्थापनमा तीनै तहको सरकार र नागरिक सचेत हुनुपर्ने कर्णको भनाइ छ।
प्रादेशिक अस्पताल अगाडि फलफूल तथा नास्ता बेच्नेहरूको लर्को लाग्छ। सो बाटो हुँदै जानकी मन्दिर पुग्नुपर्छ। पर्यटकहरूले फोहरको डङ्गुर छेउबाटै हिँड्नुपर्छ। जानकी मन्दिर वरिपरि पनि फोहरजन्य वस्तु जहीँतहीँ फालिएको छ। तिनै फोहरको डङ्गुर छेउमा टीका, मालाको व्यापार गर्नेहरू अभ्यस्त भइसकेका छन्।
जानकी चोककी व्यापारी रिना साह भन्छिन्, ‘बिहान अलिअलि सफा हुन्छ। बेलुकासम्म फेरि उस्तै फोहर थुप्रिन्छ। हामी व्यापारमा ध्यान दिन्छौँ, फोहर कसरी थुप्रिन्छ थाहा भएन।’ उनका अनुसार स्थानीयबासीले जतिबेला मन लाग्यो, जता मन लाग्यो त्यतै फोहर फाल्छन्।
जनकपुर उपमहानगरपालिकाको ट्रयाक्टरले एकाबिहानै नगरको सबै क्षेत्रबाट फोहर सङ्कलन गर्छ। प्रत्येक वडामा ट्रयाक्टर, स्वीपर, मेस्तर उपलब्ध छन्। तर, स्थानीयबासीले दिनभरिमा ती स्थानमा फेरि फोहर ल्याएर राखिदिन्छन्।
भारतको उत्तर प्रदेशको कानपुरबाट आएका रामउदगार मिश्रले भारतका धेरै तीर्थस्थल सफा हुने गरेको तर जनकपुरमा यस्तो अवस्थाले आश्चर्यमा पारेको बताए। बाह्रबिघा मैदानमा खाना पकाउने क्रममा चारैतिर देखेको फोहरले उनी अचम्मित भए।
जनकपुरका ऐतिहासिक पोखरीहरूको अवस्था पनि दयनीय छ। नगरको मुख्य बजार वरपरका केही पोखरी सफा देखिए पनि अधिकांश पोखरीको चारैतिर फोहर छ। पानीमाथि प्लाष्टिक, कागज, पाइपका टुक्रा, सडेगलेका झारपात तैरिरहेका हुन्छन्। छठ पर्वको अवसरमा मात्र पोखरीमा सफाइ हुन्छ।
जनकपुर–९, साकेतनगरका अमरेन्द्र मल्लिकले पोखरीमा फोहर मात्र नभई शौचालयको ढल समेत मिसाइएको बताए। पोखरी सौन्दर्यकरणका नाममा प्रदेश र स्थानीय तहले लाखौँको योजना बनाएर लगानी गरे पनि उपयोगिता नदेखिएको उनको गुनासो छ।
जनकपुरधाम घुमेर जानेहरूको सामाजिक सञ्जालमा प्रतिक्रिया हेर्दा अधिकांशले सहरको फोहरकै विषयमा गुनासो गर्छन्। यसको मुख्य जिम्मेवार स्थानीय तह, प्रशासन र नागरिकहरूलाई ठान्छन्। सहर सफा राख्न जनकपुर उपमहानगरपालिका उदासीन छ। नागरिक आफैँ सचेत नभएका कारण समस्या समाधान हुन सकेको छैन।
