NM Khabar 17 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जनकपुर उच्च अदालतले चालु आवमा ३ हजार ११५ मुद्दा फर्छ्यौट गर्‍यो

जनकपुर उच्च अदालतले चालु आर्थिक वर्षको वैशाखसम्म ३,११५ मुद्दा फर्छ्यौट गरेको छ। कुल ५,६५१ मुद्दामध्ये ५५.१२ प्रतिशत फर्छ्यौट भएको अदालतले जनाएको छ। अदालतले न्यायिक सेवालाई प्रभावकारी बनाउन पुराना मुद्दालाई प्राथमिकता दिएको छ।
Kamala Devi
Kamala Devi
17 May 2026, 1:04 pm १ मिनेट पढाइ
आकार:
Share:

जनकपुर उच्च अदालतले चालु आवमा ३ हजार ११५ मुद्दा फर्छ्यौट गर्‍यो

जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट गरेको छ। यो अवधिमा अदालतमा पुरानो र नयाँ गरी कुल पाँच हजार ६५१ मुद्दा रहेको थियो। यसमध्ये, अघिल्लो वर्षबाट सरी आएका दुई हजार २६७ र चालु वर्षमा नयाँ दर्ता भएका तीन हजार ३८४ मुद्दा समावेश थिए।

उच्च अदालतका शाखा अधिकृत गणेश पाण्डेले दिएको जानकारी अनुसार, हाल फर्छ्यौट हुन बाँकी मुद्दामध्ये दुई हजार ५३६ मुद्दा छन्। यसरी, अदालतको कुल मुद्दा फर्छ्यौट प्रतिशत ५५.१२ पुगेको छ।

कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले अदालतको कार्यप्रगति र मुद्दा फर्छ्यौटको अवस्थाबारे जानकारी दिए। उनले न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको बताए।

विवरणअनुसार, जिम्मेवारी सरी आएका मुद्दामध्ये एक हजार ७२४ मुद्दा फर्छ्यौट गरी ५४३ मुद्दा बाँकी रहेका छन्। यसैगरी, चालु वर्षमा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ३९१ मुद्दा फर्छ्यौट हुँदा एक हजार ९९३ मुद्दा अझै बाँकी छन्।

अदालतले लामो समयदेखि विचाराधीन रहेका मुद्दालाई प्राथमिकताका साथ टुङ्ग्याउने अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ। सार्वजनिक विवरणअनुसार, एक वर्षदेखि १८ महिनाभित्रका ३७४ मुद्दा, १८ महिनादेखि दुई वर्षभित्रका ७० मुद्दा तथा दुई वर्ष नाघेका चार मुद्दा अझै विचाराधीन छन्।

२०८१ साल पुस मसान्तसम्म दर्ता भई बाँकी रहेका मुद्दाको सङ्ख्या १२४ रहेको अदालतले जनाएको छ। कामु मुख्य न्यायाधीश कुँवरले न्यायमा नागरिकको पहुँच विस्तार गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने विचार व्यक्त गरे।

अदालतले चालु आर्थिक वर्षका लागि चार हजार ५४६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार