जनकपुरधाम । श्रम तथा रोजगार कार्यालय जनकपुरधामले निजी अस्पतालहरूमा श्रमसम्बन्धी कानुनी व्यवस्थाको कार्यान्वयन अवस्था बुझ्न अनुगमन तीव्र पारेको छ। मंगलबार धनुषा अस्पतालमा गरिएको अनुगमनमा कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाए–नपाएको, रोजगार सम्झौताको अवस्था, सामाजिक सुरक्षा कोषमा आबद्धता र श्रम ऐनको पालना भए–नभएको विषयमा व्यवस्थापन पक्ष र कर्मचारीसँग छलफल गरियो।
कार्यालयका निमित्त प्रमुख रञ्जित यादवले अनुगमनमा देखिएका कमजोरीबारे प्रतिष्ठानलाई सचेत गराउँदै सुधारका लागि निर्देशन दिइने बताए। अटेर गरे कानुनी कारबाहीका लागि सिफारिस गरिनेछ।
हालसम्मको अनुगमनबाट धेरै निजी प्रतिष्ठानमा कार्यरत कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नपाएको तथा सामाजिक सुरक्षा कोषबारे पर्याप्त जानकारी नरहेको अवस्था भेटिएको कार्यालयले जनाएको छ।
अनुगमनलाई श्रमिक र रोजगारदातामा श्रम अधिकार तथा कानुनी दायित्वबारे सचेतना फैलाउने अभियानका रूपमा समेत सञ्चालन गरिएको छ। कार्यालयले आगामी दिनमा अनुगमनलाई अझ प्रभावकारी बनाउँदै धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी जिल्लाका निजी प्रतिष्ठानहरूमा समेत निरन्तर सञ्चालन गर्ने जनाएको छ।
