मंगलबार दिउँसो सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चालकसहित ५ जना धनुषा जिल्लाका रहेका छन्।
म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा माइक्रोबसमा सवार सबै यात्रु घाइते भएका हुन्।
घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ। प्रहरीका अनुसार, ९ जना घाइतेको विवरण खुलिसकेको छ भने अन्य ५ जनाको विवरण खुल्न बाँकी छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
घाइतेहरूको विवरण
- चालक दीपक कुमार दास, धनुषा, शहीदनगर नगरपालिका–०८
- रानी कुमारी मण्डल, १७ वर्षीया, धनुषा, शहीदनगर नगरपालिका–०७
- पियुष गोहित, १४ वर्षीय, धनुषा, शहीदनगर नगरपालिका–०२
- आयुष गोहित, १५ वर्षीय, धनुषा, शहीदनगर नगरपालिका–०२
- रुबी गोहित, १२ वर्षीया, धनुषा, शहीदनगर नगरपालिका–०२
- प्रियाङ्का साह, ३६ वर्षीया, ललितपुर, भैँसेपाटी
- जेनी साह, १६ वर्षीया, प्रियाङ्का साहकी छोरी
- सफलता साह, ११ वर्षीया, प्रियाङ्का साहकी छोरी
- ओमी साह, ३ वर्षीया, प्रियाङ्का साहकी छोरी