धान रोपाइँको मुख्य सिजनमा झापाका किसान रासायनिक मलको चरम अभाव झेल्दैछन्। आवश्यक परिमाणको एक चौथाइभन्दा कम मल उपलब्ध हुँदा यस वर्ष धान उत्पादनमा प्रत्यक्ष असर पर्ने सम्भावना बढेको छ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार धानबालीका लागि १३ देखि १४ हजार मेट्रिकटन युरिया आवश्यक पर्छ। हालसम्म करिब २,४०० मेट्रिकटन मात्र आपूर्ति भएको छ। त्यस्तै, ८ हजार मेट्रिकटन डिएपी आवश्यक रहेकामा २,५०० मेट्रिकटन मात्र उपलब्ध भएको छ।
प्रमुख विष्टले धानबालीको मुख्य समयमा मल अभावले किसानलाई समयमै मल हाल्न नपाएको बताए। यसले बोटको वृद्धि र उत्पादन दुवैमा असर पार्ने जोखिम बढाएको छ।
मल अभावकै कारण धेरै किसानले अग्र्यानिक (जैविक) मल प्रयोग गरेर रोपाइँलाई निरन्तरता दिएका छन्। पछिल्ला वर्षहरूमा अग्र्यानिक मलप्रति किसानको आकर्षण बढे पनि यसको तत्काल प्रभाव देखिन कठिन छ। त्यसैले, किसानहरू रासायनिक मलमै बढी निर्भर छन्।
झापाको गौरादह–५ का किसान राजेन्द्र अधिकारी रोपाइँ सकिए पनि मल नपाएपछि खेतको हरियाली जोगाउने चिन्तामा छन्। उनले समयमै मल नपाए उत्पादन घट्ने डर सबै किसानमा रहेको बताए।
किसान मिना राजवंशीले सरकारले समयमै मल व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। बीउ, श्रम र सिँचाइमा ठूलो लगानी गरिसकेकाले मल नपाउँदा मेहनत खेर जाने चिन्ता उनलाई छ।
हालसम्म जिल्लामा ६१.८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। किसानले तत्काल पर्याप्त रासायनिक मल आपूर्ति, सहज वितरण प्रणाली र वैकल्पिक मलको प्रभावकारी प्रयोगको माग गरेका छन्।
