मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

झापामा ड्रोनबाट बाढीको जोखिम निगरानी सुरु

बंगालको खाडीको वर्षा प्रणालीले झापामा बाढी र डुबानको जोखिम बढेपछि जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याएको छ। गौरिगञ्ज र झापा गाउँपालिकाका १ हजार १६९ घरपरिवार डुबानको उच्च जोखिममा छन्। कनकाई, बिरिङ र मेची नदीको जलसतह खतराको तहमा पुगेपछि साइरन बजाइएको थियो।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
झापा बाढी ड्रोन
Share:
१३२

बंगालको खाडीबाट आइरहेको वर्षा प्रणालीले झापामा बाढी र डुबानको जोखिम बढाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याएको छ। शुक्रबार ड्रोन प्रयोग गरी बाढी तथा डुबानको जोखिम निगरानी र उद्धार कार्यलाई प्रभावकारी बनाइएको हो।

डिभिजन वन कार्यालयसँगको समन्वयमा प्रयोग गरिएको ड्रोनले जोखिमयुक्त नदी, पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती र डुबानको सम्भावना रहेका क्षेत्रको अनुगमन गर्नेछ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विपद् प्रतिकार्यका लागि स्रोतसाधनको अधिकतम प्रयोग गरी सूचना संकलन र उद्धारलाई प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको बताए।

पोखरेलका अनुसार जोखिम नक्साङ्कनका आधारमा संवेदनशील क्षेत्रको निगरानी गरी प्राप्त सूचनाका आधारमा उद्धार र प्रतिकार्य अघि बढाइनेछ। गौरिगञ्ज गाउँपालिकाका वडा नं १ र २ का ४७४ तथा झापा गाउँपालिकाका वडा नं १ र २ का ६९५ गरी कुल एक हजार १६९ घरपरिवार डुबानको जोखिममा छन्।

सम्भावित विपद्को सामना गर्न जिल्लामा नौ वटा विपद् प्रतिकार्य डुङ्गा, नेपाली सेनाका चारवटा ‘क्विक रेस्पोन्स टिम’ र सशस्त्र प्रहरीका उद्धार टोली तयारी अवस्थामा राखिएका छन्। प्रजिअ पोखरेलले जोखिमयुक्त नदी तथा खोलाका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट नियमित अनुगमन भइरहेको बताए।

शुक्रबार कनकाई, बिरिङ र मेची नदीको जलसतह खतराको तहमा पुगेपछि दिउँसो साइरन बजाइएको थियो। ती नदी क्षेत्रमा तीन साइरन जडान गरिएको छ। जलसतह शुक्रबार साँझतिर घटेको छ। इलाम क्षेत्रमा भारी वर्षा भएपछि त्यहाँबाट बगेर आउने नदीमा करिब तीन घण्टामा झापामा बाढी आइपुग्छ। सोही आधारमा साइरन बजाउने र ‘अर्ली वार्निङ सिस्टम’मार्फत जोखिम क्षेत्रमा सूचना दिने व्यवस्था मिलाइएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार