मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कालिकोट मालपोतका तत्कालीन प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कालिकोट मालपोत कार्यालयका तत्कालीन प्रमुख नेत्रबहादुर शाहीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनीहरूविरुद्ध १ करोड ७६ लाख ८६ हजार ८०० रुपैयाँसम्म बिगो माग गरिएको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
भ्रष्टाचार मुद्दा कालिकोट
Share:
१२२

कालिकोटका तत्कालीन मालपोत कार्यालय प्रमुख नेत्रबहादुर शाहीसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराएको आरोपमा उनीहरूमाथि विशेष अदालतमा मुद्दा दर्ता भएको हो।

तत्कालीन कार्यालय प्रमुख शाही, कम्प्युटर अपरेटर विरेन्द्रबहादुर शाही, नायब सुब्बा मुकुन्द बस्नेत र कार्यालय सहयोगी (करार) भक्त बहादुर शाहीविरुद्ध मुद्दा दायर भएको छ। उनीहरूमध्ये तत्कालीन कार्यालय प्रमुख शाही, कम्प्युटर अपरेटर विरेन्द्र र नायब सुब्बा मुकुन्दविरुद्ध १ करोड ७६ लाख ८६ हजार ८०० रुपैयाँ बिगो माग गरिएको छ। कार्यालय सहयोगी बस्नेतमाथि ७५ लाख ९२ हजार ४०० रुपैयाँ बिगो माग गरिएको छ।

यस्तै, तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिरबहादुर बम, सोही समितिका विज्ञ सदस्य रमेश नेपाली र सदस्य राजेन्द्र बहादुर थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनीहरूविरुद्ध १ करोड ७६ लाख ८६ हजार ८ सय रुपैयाँ बिगो र सजायको माग गरिएको छ।

आयोगले कित्ता नम्बर १७७२ को जग्गा प्राप्त गर्ने अंखपुरा शाही, कित्ता नम्बर ५७२ को जग्गा प्राप्त गर्ने प्रदिपे दमाइ, कित्ता नम्बर ९२१ को जग्गा प्राप्त गर्ने दिप बहादुर शाही र सोही कित्ता नम्बर ९२१ को जग्गा खरिद गर्ने नरेन्द्र बहादुर थापालाई पनि विपक्षी बनाएको छ। कित्ता नम्बर १७७२ को जग्गा प्राप्त गर्ने शाहीलाई ४३ लाख ८८ हजार ४००, कित्ता नम्बर ५७२ को जग्गा प्राप्त गर्ने दमाइलाई ५७ लाख ६ हजार, कित्ता नम्बर ९२१ को जग्गा प्राप्त गर्ने दिपबहादुरलाई ७५ लाख ९२ हजार ४०० बिगो माग गरिएको आरोपपत्रमा उल्लेख छ।

सरकारी प्रकृतिको जग्गा आपसी मिलेमतोमा गैरकानुनी लाभ लिने र सरकारलाई हानीनोक्सानी पुर्‍याउने बदनियतले व्यक्तिको नाममा सिफारिस गरेको उनीहरूमाथि आरोप छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार