मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

कास्की अदालतले रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटायो

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादी रवि लामिछाने, जीबी राई लगायतविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाएको छ । अदालतले पीडितको रकम छिटो फिर्ता गराउनु मुख्य उद्देश्य भएको भन्दै अभियोग संशोधनको अनुमति दिएको छ । अभियोग हटेसँगै रवि लामिछानेमाथिको सार्वजनिक पदको निलम्बन फुकुवा भएको छ ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
१९९

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूविरुद्ध दर्ता भएको अभियोगपत्रमा संशोधन गर्दै ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी हटाउन सरकारलाई अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो ।

अदालतको आदेशसँगै रवि लामिछाने, गितेन्द्रबाबु (जीबी) राई र छविलाल जोशीलगायतका प्रतिवादीहरूविरुद्ध दर्ता भएका तीनवटा फरक-फरक मुद्दामा अब ‘सहकारी ठगी’को अभियोग मात्र कायम रहनेछ । यसअघि अभियोगपत्रमा दाबी गरिएका ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’सम्बन्धी कसुरहरू अब नलाग्ने गरी संशोधन गरिएको छ ।

अदालतले पीडित बचतकर्ताहरूको रकम सहज र छिटो फिर्ता दिलाउनु मुख्य विषय भएको ठहर गरेको छ । यी जटिल कानूनी प्रक्रियाले पीडितले आफ्नो रकम फिर्ता पाउने प्रक्रिया थप जटिल र ढिलो हुन सक्ने आदेशमा उल्लेख छ ।

विज्ञापन

यसअघि २०८१ साल वैशाख ३० गतेको निर्णयले प्रतिवादी रवि लामिछानेको हकमा मात्र संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाउने भनिएको थियो । अहिलेको आदेशले जीबी राई र छविलाल जोशीलगायतका अन्य प्रतिवादीहरूको हकमा पनि सोही बमोजिम अभियोग संशोधन गर्न बाटो खोलेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ को व्यवस्था बमोजिम अभियोगपत्र संशोधन गरिएको आदेशमा उल्लेख छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जिल्ला अदालतमा अभियोग संशोधनका लागि निवेदन दिएको थियो । महान्यायाधिवक्ता सविता भण्डारी बरालले गत पुसको अन्तिम साता रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाहरूमध्ये सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।

जिल्ला अदालतले अभियोगपत्र संशोधनको अनुमति दिँदा विभिन्न ६ वटा आधारहरू अघि सारेको छ । पीडित जाहेरवालाहरूको बचत रकम सहज र शीघ्र तरिकाले फिर्ता गराउनुपर्ने आवश्यकता, पीडितको रकम फिर्ता नै मुद्दाको मूल उद्देश्य हुनु, सरकारले सुरुमा अभियोगपत्र दर्ता गर्दा सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोग नलगाउनु, सहकारी पीडितहरूले जाहेरी दिँदा पनि ती दुई अभियोगको दाबी नगर्नु, आरोपपत्र संशोधन भइसकेपछि पनि पीडितहरूले सहकारी ठगीको मुद्दाबाट आफ्नो रकम भराई पाउने अवस्था हुनु, र मुद्दा संशोधन नगरेर सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोग जारी राखेमा जाहेरवाला र आरोपितहरूबीच मिलापत्र हुन नसक्ने परिस्थिति बन्नु जस्ता आधारहरूलाई अदालतले अभियोगपत्र संशोधनको आधार बनाएको छ ।

सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा मिलापत्र गर्न नमिल्ने भएकाले यसले पीडितहरूलाई रकम फिर्ता गराउने प्रक्रियालाई जटिल बनाउने अदालतको ठहर छ ।

यो आदेशसँगै रवि लामिछाने सार्वजनिक पदबाट निलम्बनमा रहनुपर्ने कानुनी बन्देज हटेको छ । अब उनी कानुनसम्मत रूपमा नै सबै संसदीय गतिविधिहरूमा संलग्न हुन पाउनेछन् ।

कास्कीबाहेक अन्य जिल्लामा भने रविलगायतविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको अभियोग बाँकी छ । ती जिल्लामा पनि सरकारी वकिलहरूले अभियोग फिर्ताका लागि निवेदन दिनुपर्नेछ ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार