मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

काठमाडौं महानगरपालिकाले भारी वर्षाको तयारीमा निगरानी बढायो

काठमाडौं महानगरपालिकाले भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ। जोखिमयुक्त स्थान र विद्यालयको सुरक्षामा विशेष ध्यान दिइनेछ, आवश्यकता परे पठनपाठन स्थगनको अधिकार शिक्षा विभागलाई दिइएको छ। विपद् व्यवस्थापन समितिको बैठकले तयारी र प्रतिकार्य प्रणाली सक्रिय पार्ने, सरसफाइ र समन्वय बढाउने निर्णय गरेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
काठमाडौं महानगरपालिका निगरानी
Share:
११२

काठमाडौं । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। यसलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ।

सम्भावित बाढी र डुबानबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा डुबानले भौतिक सम्पत्तिमा पुग्न सक्ने क्षति कम गर्न यो कदम चालिएको महानगरपालिकाले जनाएको छ। हाल सामान्य वर्षा भइरहे पनि यसको मात्रा बढेर भारी वर्षामा परिणत हुनसक्ने देखिएकाले सतर्कता अपनाइएको हो।

महानगरपालिकाले जोखिमपूर्ण क्षेत्रमा रहेका विद्यालयको अवस्थाको समेत मूल्याङ्कन गर्नेछ। आवश्यकताअनुसार विद्यालय सञ्चालन वा पठनपाठन स्थगन गर्ने अधिकार र जिम्मेवारी शिक्षा विभागलाई दिइएको छ।

विज्ञापन

मौसमजन्य विपदको पूर्वतयारी र प्रतिकार्य योजना बनाउनका लागि बुधबार महानगर विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो। बैठकले सम्भावित बाढी, डुबान, पहिरो र जलजन्य जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य प्रणालीलाई सक्रिय बनाउने निर्णय गरेको छ। साथै, सुरक्षा निकाय, रेडक्रसजस्ता विभिन्न निकायसँग समन्वय बढाउने पनि निर्णय भएको छ।

भारी वर्षाबाट महानगर क्षेत्रभित्र उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरणका लागि महानगरका सबै संयन्त्र, विभाग, निकाय र वडा कार्यालयलाई तयारी तथा प्रतिकार्यका काम सक्रिय रूपमा सञ्चालन गर्न निर्देशन दिइएको छ।

नदी किनारका क्षेत्रमा माइकिङ गर्ने, पानी निकास हुने स्थानमा विशेष निगरानी राख्ने, ढल, मङ्गाल र क्याचपिटको सरसफाइलाई तीव्रता दिनेजस्ता निर्णयहरु बैठकमा भएका छन्। यस कार्यका लागि नगरप्रहरी बल, वातावरण व्यवस्थापन विभाग र विपद् व्यवस्थापन विभागलाई जिम्मेवारी तोकिएको छ।

विपद् प्रतिकार्यका लागि ¥याफ्टिङ बोर्ड, त्रिपाल, सवारीसाधनलगायत आवश्यक सामग्रीहरू तयारी अवस्थामा राखिएका छन्। दुई जना नगर प्रहरीको उद्धार टोली पनि तैनाथ गरिएको छ। सम्भावित जोखिमका समयमा नेपाल सरकारका विभिन्न कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सङ्घसंस्थाहरूसँग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार