रोशी गाउँपालिका–७ बुचाकोटमा बनेपाबाट खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृतक ८ मध्ये ४ जनाको पहिचान खुलेको छ। रोशी–७ की फुलमाया तामाङ (३४), वडा ८ की प्यारीमाया तामाङ (६०), वडा ६ का इन्द्रबहादुर लोप्चन (७५) र नेपाली सेनाका अमल्दार बमबहादुर भण्डारी (३०) को पहिचान भएको छ। बाँकी ४ जनाको सनाखत हुन बाँकी छ।
दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेमध्ये रोशी गाउँपालिकाका स्थानीय बासिन्दा र बस चालक घोया सिंह तामाङ (३४, बनेपा–३) छन्। उनीहरूको टाउको, अनुहार, हातखुट्टा र ढाडमा चोट लागेको छ। घाइतेमध्ये ५-६ वर्षका बालक र करिब १ वर्षीया बालिका पनि छन्। केहीको अवस्था गम्भीर छ।
बसमा रोशी गाउँपालिकाका विभिन्न वडाका स्थानीय, बर्दिया र तेमालका यात्रु सवार थिए। घाइतेहरूलाई नजिकका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले घटनाप्रति दुःख व्यक्त गरेको छ। प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गरी मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्।
बस दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
