बीपी राजमार्गको सेल्फीडाँडा नजिक हिजो भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले मृतक सबैको सनाखत भएको पुष्टि गरे।
मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिकाका ६ जना, नेपाली सेनाका एक अमलदार र सिन्धुलीको घ्याङलेख गाउँपालिकाकी एक महिला छन्। प्रहरीले मृतकहरूको पहिचान पुष्टि गरी शव परिवारलाई बुझाउने प्रक्रिया सुरु गरेको छ।
प्रारम्भिक जानकारी अनुसार बस अनियन्त्रित भई करिब १५० मिटर तल खसेको थियो। सडकको अवस्था र सवारीको यान्त्रिक पक्षबारे थप अनुसन्धान गर्न प्रहरीले विशेष टोली खटाएको छ।
