संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत कोशी प्रदेशका लागि पूर्वाधार, ऊर्जा, खेलकुद, पर्यटन र खानेपानी प्रवर्द्धनका योजनालाई प्राथमिकता दिएको छ।
कोशी करिडोरको उत्तरी खण्डमा १५ किलोमिटर सडक कालोपत्रे गरिनेछ। यसका लागि तीनवटा मुख्य करिडोरमा कुल ६ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। भारतसँगको व्यापार सुदृढ पार्न बथनाहा–विराटनगर रेलमार्गको बाँकी निर्माण सम्पन्न गरिनेछ।
ऊर्जा क्षेत्रमा कोशी प्रदेशलाई जलविद्युत् उत्पादन केन्द्र बनाउने लक्ष्य छ। १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि स्रोत सुनिश्चित गरी ठेक्का प्रक्रिया अघि बढाइनेछ। ४ सय ९० मेगावाटको अरुण–४ आयोजनाको वित्तीय व्यवस्थापन र विकास प्रक्रिया अघि बढाइनेछ। अरुण तेस्रो र तल्लो अरुण आयोजनाको कार्यान्वयनमा सहजीकरण गरिनेछ।
खानेपानी तथा सरसफाइतर्फ दमक, धरान र इटहरीजस्ता प्रमुख सहरमा आयोजना सञ्चालन गरिनेछ। ६ वटा सहरका आयोजनाका लागि २ अर्ब ३४ करोड रुपैयाँ विनियोजन छ। संखुवासभाको खाँदबारीमा जल तथा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याइनेछ।
सिँचाइ तथा नदी व्यवस्थापनमा सुनसरी–मोरङ सिँचाइ आयोजना र कोशी पम्प सिँचाइ प्रणालीको मर्मत गरिनेछ। विभिन्न सिँचाइ प्रणालीका लागि ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ। कोशी नदी व्यवस्थापनका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक चार लेनमा स्तरोन्नति गरिनेछ। झापाको मेचीनगरमा एक सय आवास निर्माण गरी बिक्री गरिनेछ। एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालन गरिनेछ। जेन-जी आन्दोलनमा क्षति पुगेका सरकारी संरचना पुनर्निर्माण गरिनेछ।
खेलकुद पूर्वाधारतर्फ विराटनगरमा ३ वर्षभित्र दुई हजार दर्शक क्षमताको इन्डोर स्टेडियम निर्माण सम्पन्न गरिनेछ। विराटनगरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गरिनेछ। गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरिनेछ।
पर्यटन प्रवर्द्धनका लागि तीनजुरे–पाथीभरा ट्रेकिङ मार्ग विकास गरिनेछ। कोशी टप्पु–कञ्चनजंघा समेटेर पर्यटकीय योजना अघि बढाइनेछ। हलेसी, पाथीभरा र चतराधामलाई समेटेर धार्मिक–पर्यटकीय करिडोर विकास गरिनेछ।
