मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कोशी नदीमा पानीको बहाव बढ्दो: ब्यारेजका ५२ ढोका खोल्ने तयारी

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा छ, जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षाले सोमबारसम्म सतर्कता तह पार गर्ने सम्भावना छ। सम्भावित बाढी जोखिमलाई मध्यनजर गर्दै कोशी ब्यारेजका ५२ ढोका खोल्ने तयारी भइरहेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
कोशी नदी बाढी
Share:
२४४

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा छ। उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षाले सोमबारसम्म नदीको जलसतह छ मिटरको सतर्कता तह पार गर्ने सम्भावना छ।

विभागकी बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा भइरहेको वर्षाले बहाव उल्लेख्य बढ्नसक्ने बताइन्। आज साँझसम्म जलसतह ४.७८ मिटर पुगेको छ। आज राति पनि वर्षाको सम्भावना रहेकाले सोमबार बिहानसम्म नदीले छ मिटरको सतर्कता तह पार गर्न सक्ने अनुमान छ।

विष्टका अनुसार जलसतह छ मिटर पुगेमा सतर्कता तह र सात मिटर पुगेमा खतरा तह मानिनेछ। नदी तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका ५२ ढोका खोल्ने विषयमा समन्वय भइरहेको जानकारी दिए।

उनले बाढीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकतानुसार पूर्वतयारी तथा प्रतिकार्यका संयन्त्र तयारी अवस्थामा राखिएको बताए।

विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेको छ। यसले बाढी, पहिरो र डुबानको जोखिम बढाउनेछ। नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार