रौतहटको राजपुर नगरपालिका–२ फतुवा महेशपुरस्थित हुलाकी सडकखण्डमा लालबकैया नदीको बाढी पसेको छ। लगातारको वर्षाले सडकमाथिबाट पानी बग्दा स्थानीय बासिन्दा, यात्रु र सवारी चालक ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। वैकल्पिक मार्ग नहुँदा जोखिमपूर्ण अवस्थामै सडक प्रयोग गर्नुपरेको छ।
यो सडकखण्ड दैनिक सयौँ सवारीसाधन र यात्रुले प्रयोग गर्छन्। वर्षायाममा हरेक वर्ष लालबकैयाको बाढीले सडक डुबानमा पर्दा आवतजावत जोखिमपूर्ण बन्दै आएको छ। बाढीको बहाव बढेसँगै दुर्घटनाको जोखिम पनि बढेको छ।
डुबान क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट र नेपाल प्रहरीको टोली खटिएको छ। सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीका अनुसार सुरक्षा व्यवस्था कडा पारिएको छ। बाढीको बहाव अझ बढेमा सडकमा आवतजावत पूर्ण रूपमा रोक्ने तयारी छ। सशस्त्र प्रहरीले सर्वसाधारणलाई जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ।
निरन्तर वर्षाले लालबकैया खोलाको जलस्तर अझै बढ्न सक्ने सम्भावना छ। स्थानीय प्रशासनले नदी आसपासका बासिन्दा तथा यात्रुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जिल्लाको झाझ, चादी र लालबकैया नदीको बाढीले गरुडा, माधवनारायण, राजपुर, इशनाथ, गौर नगरपालिका र यमुनामाई, दुर्गा भगवती गाउँपालिकाका खेतीयोग्य जमिन डुबानमा परेका छन्। चादी नदीको बाढीले गरुडा–समनपुर सडकखण्डको मलाही गाउँ नजिक सडक बगाएको छ।
सडकमा पानीको बहाव तीव्र बनेपछि नगरपालिकाले अस्थायी डाइभर्सन बनाएको छैन। यसले विद्यार्थी, किसान, व्यापारी र सर्वसाधारण यात्रु प्रभावित भएका छन्। सम्बन्धित निकायले समयमै सडक मर्मत र स्तरोन्नति नगर्दा आवागमन कष्टकर बनेको छ। यसले आर्थिक क्षति र समयको नोक्सानी भइरहेको छ।
स्थानीयवासीले हरेक वर्ष दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधान माग गरेका छन्। उनीहरूले हुलाकी राजमार्गको सतह उचाल्न, प्रभावकारी पानी निकासको व्यवस्था गर्न र बाढी प्रभावित क्षेत्रमा स्थायी संरचना निर्माण गर्न सरकारसँग माग गरेका छन्।
