भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेललाई मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको ठगी प्रकरणमा जिल्ला प्रशासन कार्यालयले बयानका लागि बोलाएको छ। उक्त पसलले २५० भन्दा बढी सर्वसाधारणको करोडौं रुपैयाँ हिनामिना गरेको आरोप छ।
कानेपोखरी–७ की विष्णुमाया गिरीले सुनचाँदी व्यवसायी होमनाथ अधिकारी, उनकी श्रीमती बाटुलादेवी अधिकारी, छोरा ध्रुव अधिकारी, मनोज अधिकारी र बुहारीहरू ममता कार्की अधिकारी तथा स्मिता ओझा अधिकारीविरुद्ध जेठ ७ गते किटानी जाहेरी दिएकी थिइन्। गिरीले आफ्नो २९ लाख १७ हजार रुपैयाँ ठगिएको उजुरीमा उल्लेख गरेकी छन्।
बाटुलीदेवी अधिकारीसँग बयान लिँदा हिसाब मिलाउने जिम्मा पौडेलले लिएको बताएपछि प्रशासनले उनलाई बोलाएको थियो। पौडेलले बयानका क्रममा विवाद मिलाउने जिम्मा लिएको स्वीकार गरेका छन्। ‘मैले पीडितहरूकै अनुरोधमा न्यायका लागि विवाद मिलाउने प्रयत्न गरेको हुँ,’ उनले भनेका छन्।
तर, जिल्ला प्रशासन कार्यालय मोरङले पौडेलले बिचौलियाको भूमिकामा पीडितहरूलाई झुलाएको आशंका गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार पौडेल ठगीमा संलग्न परिवारको आफन्त, बचतकर्ता वा नियामक निकायको व्यक्ति नभएकाले मुद्दा मिलाउने उनको आधारमाथि प्रश्न उठेको थियो। प्रशासनले घटना नमिलेसम्म बोलाएको बेला उपस्थित हुने सर्तमा पौडेललाई छाडेको छ।
अधिकारी सुनचाँदी पसलले करिब १२ करोड रुपैयाँ हिनामिना गरेको पीडितहरूको दाबी छ। सुरुमा विश्वासिलो पसलका रूपमा चिनिएको यो पसलका सञ्चालक होमनाथ अधिकारी र उनका छोरा मनोज अधिकारी परिवारले मिलेर बचत रकम फिर्ता नगरी हिँडेको पीडितहरूको भनाइ छ।
ठगीमा फस्नेहरूमा स्थानीय व्यापारी र केही प्रतिष्ठित व्यक्तिहरू पनि छन्। उनीहरूले प्रशासन वा न्यायिक निकायमा जानुको सट्टा गाउँमै घटना मिलाउन प्रयास गरेका थिए। सोही क्रममा नवीन पौडेलको नेतृत्वमा ‘ऋण असुली समिति’ गठन गरिएको थियो। समितिले घटना मिलाउन नसकेपछि गिरीले निवेदन दिएकी थिइन्, जसपछि पौडेलको संलग्नता बाहिर आएको हो।
बाटुलीदेवी अधिकारीले आफ्नो नाममा रहेको करिब १ बिघा जग्गा पौडेलले काशीराज थापाको नाममा गराई प्लटिङ सुरु गरेको बयान दिएकी छन्। उनले जग्गा बिक्री गरेर पीडितलाई रकम फिर्ता गर्नेभन्दा प्लटिङमा लगानी भएको आरोप लगाएकी छन्। पौडेलले उक्त जग्गा प्लटिङ गरेर चलेको मूल्यभन्दा बढीमा बिक्री गर्न खोजेपछि पीडितहरू असन्तुष्ट बनेका थिए।
पौडेलले निवेदक गिरीलाई ‘अरूको पैसा दिए पनि तेरो पैसा कुनै हालतमा दिँदिनँ’ भन्दै धम्काएको र ‘झुण्डिएर मर’ समेत भनेको गिरीले बताएकी छन्। पौडेलले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई अधिकारीको इटहरीमा भएको जग्गाको वारेसनामा लिने वातावरण मिलाइदिन आग्रह गरेका थिए।
यसैबीच, मोरङका एमाले नेताहरूले जिल्ला प्रशासन कार्यालयमा दबाब दिने प्रयास गरेका थिए। पौडेलको बयान लिनुअघिल्लो दिन ५० जनाभन्दा बढी नेताहरू प्रशासन कार्यालय घेर्न पुगेका थिए। उनीहरूले पौडेललाई झिकाउने पत्रविरुद्ध प्रशासन कार्यालयमा दबाब दिएका थिए।
