गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका १५४.५५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको छ। मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामले संरचना भत्काएर ती जग्गा पुनः संरक्षणमा ल्याएको जनाएको छ।
सर्वाधिक १२० हेक्टर वन क्षेत्र पर्साबाट खाली गराइएको छ। बाराबाट २१, सप्तरीबाट पाँच, धनुषाबाट तीन दशमलव २५, सर्लाहीबाट तीन, महोत्तरीबाट दुई र सिरहाबाट शून्य दशमलव ३५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको छ।
वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीले चोरी–तस्करी नियन्त्रण र वन संरक्षणमा कार्यालयले सक्रियता बढाएको बताए।
हरियाली प्रवर्द्धनका लागि प्रदेशभर ३२ लाख ३९ हजार ८१० बिरुवा उत्पादन गरी २६१.७७ हेक्टरमा वृक्षरोपण गरिएको छ। सर्लाहीमा आठ लाख ६३ हजार ९७०, सप्तरीमा पाँच लाख तीन हजार ६४०, सिरहामा चार लाख १५ हजार, धनुषामा चार लाख तीन हजार, महोत्तरीमा दुई लाख २० हजार, बारामा चार लाख ३४ हजार २०० र पर्सामा चार लाख बिरुवा उत्पादन गरियो।
वृक्षरोपणतर्फ सप्तरीमा ९५ हेक्टर, धनुषामा ६६.५ हेक्टर, बारामा ४३.५३ हेक्टर, महोत्तरीमा २० हेक्टर, सिरहामा २६ हेक्टर, सर्लाहीमा आठ दशमलव ५ हेक्टर र पर्सामा दुई दशमलव २४ हेक्टर क्षेत्रफलमा गरियो।
वन क्षेत्रबाट छ लाख ६५ हजार २७३.२६ घनफिट काठ र एक हजार २५६ चट्टा दाउरा उत्पादन भएको छ। सर्लाहीमा तीन लाख ५१ हजार ७५९.५ घनफिट काठ उत्पादन भएको छ।
वन पैदावार बिक्रीबाट हालसम्म पाँच लाख तीन हजार ७९९.२७ घनफिट काठ वितरण गरिएको छ। यसबाट प्रदेश सरकारलाई रु पाँच करोड ८५ लाख ५० हजार १९० राजस्व सङ्कलन भएको छ।
वन निर्देशनालयका निर्देशक सुभाषचन्द्र दासले कर्मचारीको सक्रियताले अतिक्रमण नियन्त्रणमा सफलता मिलेको बताए। उनले वन संरक्षण, वृक्षरोपण र पैदावारको व्यवस्थित उपयोगलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।
