NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मन्त्री क्वार्टरमै योजनाको चिठी बाँड्दा कर्मचारीबीच हानाहान

तत्कालीन मन्त्री रानीकुमारी तिवारी शर्माको क्वार्टरमा योजना कार्यान्वयनको विषयलाई लिएर दुई कर्मचारीबीच हात हालाहालको स्थिति बन्यो। यो घटनाले मन्त्रालयमा ७ करोड रुपैयाँका खुद्रे योजनामा कमिसनको खेलको आरोपलाई पुनः सतहमा ल्याएको छ। विवादपछि एक कर्मचारीको एकाएक सरुवा गरियो।
Kamala Devi
Kamala Devi
3 June 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
मधेश प्रदेश योजना विवाद
Share:

जनकपुरधाम । तत्कालीन मधेश प्रदेशकी शिक्षा मन्त्री रानीकुमारी तिवारी शर्माको क्वार्टरमा योजना कार्यान्वयनको विषयमा दुई कर्मचारीबीच हात हालाहालको स्थिति सिर्जना भयो । यो घटनाले मन्त्रालयमा करिब ७ करोड रुपैयाँका तालिम, गोष्ठी र सडक नाटक जस्ता खुद्रे योजनामा कमिसनको खेलको आरोपलाई पुनः सतहमा ल्याएको छ ।

शिक्षा इकाइका अधिकृत लक्ष्मण राम र मन्त्रालयका लेखा अधिकृत सुशीलकुमार यादवबीच रेडबुकमा रहेका कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा विवाद भयो । अधिकृत रामले पत्रपत्रिकामा विज्ञापन गरेर मात्र तालिम सञ्चालन गर्नुपर्ने अडान लिए । मन्त्रालय भने गोप्य रूपमा कार्यक्रम गर्न चाहन्थ्यो ।

यही विषयमा विवाद बढ्दा दुई कर्मचारीबीच अश्लिल गालीगलौज र हात हालाहालको स्थिति बनेको थियो । विगतमा पनि यस्ता योजनाहरू व्यक्ति वा फर्मलाई कमिसन लिएर बेच्ने गरिएको आरोप लाग्दै आएको छ ।

विवादपछि इकाइ अधिकृत रामको जेठ ६ गते शिक्षा विकास निर्देशनालयमा सरुवा गरियो । उनको स्थानमा किशोरी कापरलाई जिम्मेवारी दिइयो । ‘मलाई गोप्य रूपमा योजना सञ्चालन गर्न दबाब दिइएको थियो । मैले नमान्ने भनेपछि विवाद भयो,’ अधिकृत रामले भने, ‘मेरो किन सरुवा भयो, उहाँहरूलाई नै थाहा होला ।’

तत्कालीन मन्त्री तिवारीले कर्मचारीबीच विवाद भएको स्वीकारिन् । तर, मन्त्रालयका सचिव दिलिपकुमार ठाकुरले विवाद नभएको र कर्मचारी सरुवा नियमित रहेको दाबी गरे ।

मन्त्रीको सहमतिमा रामको सरुवा भए पनि सत्ता समीकरण फेरिएपछि जसपा नेपालबाट मन्त्री रहेकी तिवारी बर्खास्तीमा परिन् । हाल नेकपा एमालेबाट मनोजकुमार सिंह शिक्षा तथा संस्कृति मन्त्री छन् ।

विवादपछि थाँती रहेका खुद्रे योजनाहरू कार्यान्वयन गर्न मन्त्रालयले मंगलबार १५ दिने सूचना प्रकाशित गरेको छ । यसमा १० लाखका ८ वटा, ९ लाखका २ वटा र ८ लाखको एउटा योजना समावेश छन् ।

वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव यस्ता योजना कार्यान्वयनको पक्षमा थिएनन् । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षमा १२ अर्बभन्दा बढी बजेट घाटा रहेकाले प्रत्येक योजनामा २० प्रतिशत कटौती गर्न र औचित्यहीन योजनाहरू समर्पण गर्न अर्थ मन्त्रालयले पत्राचार गरेको थियो ।

मन्त्रालयका सचिव दिलिप ठाकुरले स्वीकृत बजेट भएकाले कार्यान्वयनमा अगाडि बढेको बताए । ‘केही दिनअघिसम्म बजेट अर्थ मन्त्रालयमै लक थियो, खुलेपछि कार्यान्वयन गर्न लागिएको छ,’ उनले भने ।

यसैबीच, वैशाख २८ गते यसै मन्त्रालयमा तत्कालीन मन्त्री तिवारी र रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादवबीच योजनाको ‘चिठी बेचेको’ विषयलाई लिएर विवाद भएको थियो ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार