धनुषा र सिरहाका खेतहरू ढुंगा जस्तै कडा बन्दै गएका छन्। केन्द्रीय कृषि प्रयोगशालाको अध्ययनले माटोको उत्पादक शक्तिमा गम्भीर ह्रास आएको देखाएको छ।
वरिष्ठ माटो विज्ञ नेत्रप्रसाद भट्टका अनुसार धनुषा र सिरहाका १० स्थानीय तहमा गरिएको अध्ययनमा माटो कडा हुनुका साथै सुक्खापन र न्यून पानी धारण क्षमता देखिएको छ। किसानले अत्यधिक मल प्रयोग गर्दा पनि बाली उत्पादन घटेको अनुभव सुनाए।
रासायनिक मलको एकोहोरो प्रयोग र प्राङ्गारिक मलको अभावले माटोको संरचना बिग्रँदै गएको छ। स्वस्थ माटोमा ५ प्रतिशत प्राङ्गारिक पदार्थ अनिवार्य छ। हाल नेपालको औसत २.५९ प्रतिशत छ, तराईमा १.९४ प्रतिशत मात्र छ।
डिजिटल स्वोयल म्यापका अनुसार, मधेशको ५४.७ प्रतिशत माटो अम्लीय छ। ५२.२ प्रतिशतमा प्राङ्गारिक पदार्थ, ५५.७ प्रतिशतमा फस्फोरस, ५८.४ प्रतिशतमा पोटासियम, ८२.७ प्रतिशतमा जिंक र ५८ प्रतिशतमा बोरनको कमी छ। यो राष्ट्रिय औसतभन्दा बढी हो।
माटो समस्याका चार मुख्य कारण छन्: किसानमा माटो व्यवस्थापन ज्ञानको कमी, प्राङ्गारिक पदार्थको न्यून उपलब्धता, सिँचाइ समस्या र हिउँदे बालीपछि जमिन खाली छाड्ने प्रवृत्ति। रासायनिक मलले माटोको सन्तुलन बिगार्छ।
किसानले तत्काल उत्पादनका लागि सिफारिसभन्दा बढी रासायनिक मल प्रयोग गरिरहेका छन्। प्रतिहेक्टर १०–२० टन प्राङ्गारिक मल चाहिनेमा विगत २–३ वर्षदेखि गोठेमल प्रयोग भएको छैन। रासायनिक मलको जथाभाबी प्रयोगले माटो साह्रो भई लाभदायक सूक्ष्म जीवाणु मर्दैछन्। ५०% रासायनिक र ५०% प्राङ्गारिक मलको सन्तुलनले माटो सुधार हुन्छ।
किसानका मुख्य समस्या मल, सिँचाइ र लागत हुन्। समयमा मल नपाउनु, बोरिङ भए पनि विद्युतीकरण वा मर्मत अभावले सिँचाइ नहुनु, र जोताइको अत्यधिक लागतले खेती कठिन भएको छ। गुणस्तरीय बिउको अभाव पनि छ।
धनुषाका किसान रामउद्गार महतो सरकारी निकायबाट पर्याप्त सेवा नपाएको गुनासो गर्छन्। माटो परीक्षणका लागि हेटौंडा जानुपर्ने र साना किसानलाई बेवास्ता गरिने उनको अनुभव छ।
कृषि ज्ञान केन्द्र धनुषाले ५०% अनुदानमा ढैँचाको बिउ र प्राङ्गारिक मल तथा चुन वितरण गरिरहेको जनाएको छ। प्रदेश सरकारले ८५% अनुदानमा प्राङ्गारिक मल र चुन वितरण गरिरहेको छ। सिँचाइका लागि स्यालो ट्युबवेललाई जोड दिइएको छ।
