मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरास्थित सडकबाट विद्युतीय गाडी करिब एक हजार मिटर तल खसेको छ। दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको उक्त गाडी मंगलबार दिउँसो दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार म.प्र. ०३–००१ ज ०७२० नम्बरको गाडी हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल सडकखण्डमा दुर्घटनाग्रस्त भएको थियो।
चालकसहित आठ जना सवार रहेकोमा चार जना पुरुषको घटनास्थलमै ज्यान गएको छ। मृतकहरूको सनाखत कार्य भइरहेको छ।
दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जना घाइते भएका छन्। सुरक्षाकर्मीले भिरबाट घाइतेहरूको उद्धार गरेका छन्।
घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं पठाइएको छ। एक महिलालाई हेटौंडा अस्पताल पठाइएको छ।
प्रहरी उपरीक्षक खत्रीको कमाण्डमा २१ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय प्रहरीको टोली खटिएको थियो।
गाडी करिब एक हजार मिटर तल खसेकाले उद्धारमा चुनौती भएको सुरक्षाकर्मीले बताएका छन्। दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
