जनकपुरधाम । मिटरब्याज पीडितहरू आन्दोलित भइरहेका बेला लगानीकर्ताहरू पनि सडकमा उत्रिएका छन्। लगानीकर्ता लेनदेन पीडित संघर्ष समितिको नाममा उनीहरूले जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्र बुझाउनुअघि उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रशासन कार्यालयअगाडि चर्को नाराबाजी गरेका थिए। उनीहरूले मिटरब्याज पीडित संघर्ष समितिसँग सरकारले गरेको ९ बुँदे सम्झौता खारेजीको माग गरेका छन्।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भुदेव झाले संघर्ष समितिको नाममा आएका उनीहरूले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको बताए। संघर्ष समितिका अनुसार देशैभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रमअन्तर्गत धनुषामा पनि यो कार्यक्रम सम्पन्न भएको हो।
