नेपाल राष्ट्र बैंकको राष्ट्रिय परिचयपत्र आबद्ध गर्ने निर्देशनलाई हतियार बनाएर डिजिटल ठगहरूले नबिल बैंकका ग्राहकको खाता रित्याउन थालेका छन्। ठगहरूले २४ घण्टाभित्र मोबाइल बैंकिङ सेवा बन्द हुने त्रास देखाउँदै फिसिङ लिंक पठाएका छन्।
नबिल बैंकले ग्राहकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ। बैंकका अनुसार, नबिल बैंकको नाम र लोगो दुरुपयोग गरी एसएमएस तथा नक्कली वेबसाइटमार्फत भ्रामक सन्देश र लिंकहरू फैलाइएको छ।
स्क्यामरहरूले पठाउने एसएमएसमा बैंकको आधिकारिक पेजजस्तै देखिने नक्कली लिंक जोडिएको हुन्छ। ग्राहकले मोबाइल नम्बर, पासवर्ड, पिन राख्नेबित्तिकै खाताको रकम क्षणभरमै गायब हुन्छ।
नबिल बैंकले ओटीपी, पिन, पासवर्डजस्ता संवेदनशील जानकारी कसैलाई पनि नदिन अनुरोध गरेको छ। केवाईसी अपडेट नभए वा खाता निष्क्रिय हुने शंकास्पद कल/मेसेज आउन सक्छन्। त्यस्ता सन्देश आएमा बैंकको आधिकारिक वेबसाइट वा शाखामा गएर मात्र पुष्टि गर्नुहोस्।
भर्सेलजस्ता प्लेटफर्मबाट तयार पारिएका नक्कली वेबसाइटहरूले ग्राहकको नागरिकताको फोटो र परिवारको विवरण समेत संकलन गरिरहेको पाइएको छ।
प्रविधिको कम ज्ञान भएका ज्येष्ठ नागरिक र सोझा ग्राहकहरूलाई यस्ता ठगीबाट जोगिन बैंकहरूले आफ्नै आधिकारिक मोबाइल बैंकिङ एप वा बैंकको शाखामै पुगेर केवाईसी अपडेट गर्न सुझाव दिएका छन्।
