महालेखापरीक्षकको ३३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा स्वीकृत ७९ अर्ब ६९ करोड विदेशी लगानीमध्ये १४ प्रतिशत (११ अर्ब ३० करोड) मात्रै नेपाल भित्रिएको छ।
प्रतिवेदनअनुसार एक हजार नौ विदेशी लगानीकर्ताबाट ७९ अर्ब ६९ करोड बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो। यसमध्ये जम्मा ९७ लगानीकर्ताबाट ११ अर्ब ३० करोड मात्र भित्रिएको छ।
यो स्वीकृत लगानीको १४ प्रतिशत मात्र हो। वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिको अनुपात निरन्तर घट्दो क्रममा देखिएको छ।
आर्थिक वर्ष २०७९/८० मा स्वीकृत ३२ अर्ब ४८ करोडको प्रस्तावमध्ये नौ अर्ब २० करोड प्राप्त भएको थियो, जुन समग्रमा २८ प्रतिशत थियो। त्यसैगरी, आव २०८०/८१ मा स्वीकृत ८१ अर्ब ६९ करोडको लगानीमध्ये १० अर्ब २९ करोड मात्रै प्राप्त भयो, जुन कुल स्वीकृतिको १३ प्रतिशत मात्रै हो।
महालेखापरीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमार्फत नीतिगत स्थायित्व कायम गर्न, प्रशासनिक प्रक्रियालाई सरल बनाउन र लगानीमैत्री वातावरण निर्माण गरी प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ।
