NM Khabar 13 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नुवाकोटमा प्रहरीले पाँच शय्याको अस्थायी अस्पताल सञ्चालनमा ल्यायो

भोटेकोशी नदीमा आएको बाढीले निम्त्याउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। यस अस्पतालले विशेषज्ञ चिकित्सकद्वारा २४ घण्टा आकस्मिक सेवा, ओपिडी, प्रयोगशाला र औषधि निःशुल्क उपलब्ध गराउनेछ। बाढीपछिको सङ्क्रमण नियन्त्रण र मानसिक स्वास्थ्य सेवामा पनि जोड दिइएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
12 September 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
नेपाल प्रहरी अस्थायी अस्पताल
Share:

भोटेकोशी नदीमा आएको बाढीले निम्त्याउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको अवस्थामा बाढीपश्चात् फैलन सक्ने सङ्क्रमण नियन्त्रणका लागि यो कदम चालिएको हो।

विदुरमा सञ्चालित यस लेभल–१ अस्पतालबाट विशेषज्ञ चिकित्सकहरूले २४ घण्टा नै आकस्मिक सेवा, बहिरङ्ग (ओपिडी) सेवा, वार्ड, प्रयोगशाला र औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलका अनुसार बाढीका कारण मानवीय र पशुचौपायमा क्षति पुगेपछि फैलन सक्ने सङ्क्रमण नियन्त्रणमा अस्पतालले जोड दिएको छ।

पौडेलले बाढीले पुल बगाउँदा रसुवा, नुवाकोट तथा त्रिशूलीका बासिन्दालाई त्रिशूली अस्पतालसम्म पुग्न कठिनाई भएको र सामान्य स्वास्थ्य समस्याका लागि पनि अन्य जिल्ला जानुपर्ने बाध्यता रहेको बताए। यसैलाई सम्बोधन गर्न विशेषज्ञसहितको सेवा विदुरमा उपलब्ध गराइएको छ।

विपद्पछिको अवस्थामा सरुवा रोगको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन अपिल गरिएको छ। मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान गरी उपचार गर्नु प्रमुख चुनौती भएकाले मनोपरामर्शसहितको स्वास्थ्य सेवालाई पनि प्राथमिकता दिइएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीले होल्डिङ सेन्टरमा विभिन्न बस्तीका मानिस एकै ठाउँमा भेला हुँदा सङ्क्रमण फैलन सक्ने भन्दै स्वास्थ्यकर्मीमार्फत सचेत गराइरहेको जानकारी दिए। शव र सिनोको दुर्गन्ध, प्रदूषित पानी तथा प्रतिकूल मौसमका कारण हैजाजस्ता रोग फैलने जोखिमलाई मध्यनजर गरी विशेषज्ञ चिकित्सक र आवश्यक औषधि उपलब्ध गराइएको छ।

रेग्मीले विपद्पछिको समयमा शारीरिक स्वास्थ्य समस्यासँगै मानसिक अवस्थामा पुगेको प्रभावलाई नजिकबाट बुझेर समाधानमा जोड दिइने बताए।

यसैगरी, बाढीमा हराएका व्यक्ति तथा भेटिएका बेवारिसे शव पहिचानका लागि प्रहरीले फिल्ड अस्पताल परिसरमा डीएनए परीक्षण सेवा पनि सञ्चालन गरेको छ। यसअघि काठमाडौं पुग्नुपर्ने बाध्यता हटाउँदै विदुरमै सम्पर्क केन्द्र सञ्चालनमा ल्याइएको हो। परिवारका सदस्य हराएकाले प्रहरीलाई डीएनए नमूना उपलब्ध गराउन अनुरोध गरिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार