प्रतिनिधि सभामा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबारको बैठकमा उक्त विधेयक पेश गरेका हुन्।
सभामुख डोलप्रसाद अर्यालले विधेयक प्रस्तुत गर्न अनुमति लिनेसम्बन्धी प्रस्तावमा कुनै विरोध नभएको जानकारी दिए। सभाले प्रस्ताव सर्वसम्मतिले स्वीकृत गर्यो।
अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासका लागि मूल्य तथा शोधानान्तर स्थिरता कायम राख्न विधेयक ल्याइएको बताए। यसले समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ पार्नेछ।
उनले वित्तीय क्षेत्रमा आएको परिवर्तन, डिजिटल प्रयोग र केन्द्रीय बैंकको भूमिका विकासलाई दृष्टिगत गरी ऐनका व्यवस्था स्पष्ट, व्यवस्थित र समयानुकूल बनाउनुपर्ने बताए।
विधेयकले नेपाल राष्ट्र बैंकलाई अझ स्वायत्त, उत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउनेछ। यसमा बैंकको उद्देश्य, गभर्नर तथा सञ्चालकको नियुक्ति र पदमुक्ति सम्बन्धी व्यवस्था समेटिएको छ।
