नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान प्रक्रिया तेस्रो पटक सरेर आज दिउँसो २:३० बजेबाट सुरु हुने भएको छ।
यसअघि बिहान १० बजे, त्यसपछि १ बजे र २ बजेका लागि मतदानको समय तोकिएको थियो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार, ज्येष्ठ मतदाताबाट मतदान सुरु गरिनेछ।
मतपत्र छाप्नमा भएको ढिलाइका कारण मतदानमा ढिलाइ भएको निर्वाचन समितिका सदस्य सुजन लोप्चनले बताएका छन्। प्रेसबाट प्राविधिक समस्या भन्दै समयमै मतपत्र आइपुग्न नसकेको उनको भनाइ छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार, वर्षा र केही प्राविधिक कारणले मतदानको समय सारिएको हो।
महाधिवेशनमा कुल ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि काठमाडौंका राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा सात मतदान केन्द्र तोकिएको छ।
खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
यसअघि: नेपाली कांग्रेस महाधिवेशन: मतदानको समय दोस्रो पटक सर्यो, दिउँसो २ बजेबाट सुरु हुने
