NM Khabar 24 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्याजको भाउ किलोको सय पार, चाडपर्व नजिकिँदै गर्दा चिन्ता बढ्यो

चाडपर्व नजिकिँदै गर्दा प्याजको भाउ किलोको १०० रुपैयाँ नाघेको छ। भारतमा उत्पादन कम हुनु र चाडपर्वको माग बढ्नुले नेपालमा मूल्यवृद्धि भएको छ। व्यवसायीले सरकारलाई जीटुजीमार्फत आपूर्ति गर्न सुझाव दिएका छन्।
Sunita Rai
Sunita Rai
23 August 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
प्याजको भाउ
Share:

काठमाडौं । नयाँ बानेश्वरकी चटपटे व्यवसायी पार्वती थापालाई सुकेको प्याजको भाउ प्रतिकिलो सय रुपैयाँ पुगेपछि व्यापार धान्ने चिन्ताले पिरोल्न थालेको छ। दैनिक एक किलो प्याज खपत गर्ने उनले महँगो भएपछि एक महिनाअघिदेखि चटपटे र पानीपुरीमा प्याजको मात्रा घटाएकी छिन्।

‘यसअघि किलोको ६०-७० रुपैयाँमा किनेको प्याज आज बिहान १ सय रुपैयाँ पुग्यो,’ पार्वतीले भनिन्, ‘ग्राहकले धेरै प्याज नहालेको चटपटे मन पराउँदैनन्, कसरी धान्नु होला र !’

चाडपर्वको रौनक सुरु भएसँगै भान्सामा अत्यावश्यक वस्तुको भाउ महँगिँदा बुद्धनगरकी गृहिणी लक्ष्मी श्रेष्ठको गुनासो उस्तै छ। बढ्दो मूल्यकै कारण उनले भान्सामा प्याजको प्रयोग मात्रा कटौती गर्ने निर्णय गरेकी छिन्। मासु पकाउँदा बाहेक अन्य तरकारीमा उनी आजकल प्याज प्रयोग गर्दिनन्।

‘मासुमा त प्याज नभई नहुने, अरू तरकारीमा नपरे पनि हुन्छ,’ लक्ष्मी भन्छिन्, ‘भाउ घटेपछि मात्रै किन्नुपर्ला, चाडबाडको बेला कसरी चलाउने हो भान्सा ?’

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार असार अन्तिम साता ५४ रुपैयाँ रहेको प्याजको थोक मूल्य ७ साउनसम्म ५५ रुपैयाँ थियो। त्यसयता भाउ ह्वात्तै बढेको छ। ३१ साउनमा ६२ रुपैयाँ पुगेको प्याजको भाउ ७ भदौमा ७७ रुपैयाँ पुगेको थियो। एक महिनामै प्रतिकिलो २२ रुपैयाँ (४० प्रतिशत) मूल्यवृद्धि भएको छ।

गत वर्ष यसै समयमा प्याजको थोक मूल्य ४६ रुपैयाँ थियो। एक वर्षमा प्रतिकिलो ३१ रुपैयाँ (६५ प्रतिशत) बढेको छ। अहिले खुद्रा बजारमा सुकेको प्याज ९० देखि १ सय रुपैयाँसम्म बिक्री भइरहेको छ।

व्यवसायीका अनुसार भारतमै प्याजको अभाव र मूल्यवृद्धि मुख्य कारण हो। नेपालले प्याजमा ९८ प्रतिशत भारतकै भर पर्नुपर्छ। भारतमा उत्पादन कम हुनु र दुवै देशमा चाडपर्वको माग बढ्नुले मूल्य थप आकासिने व्यवसायीको विश्लेषण छ। भारतबाट नेपाल ल्याउँदा प्रतिकिलो ७५ रुपैयाँभन्दा बढी पर्न थालेको छ।

आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलका अनुसार भारत सरकारले औपचारिक रूपमा निर्यातमा प्रतिबन्ध नलगाए पनि आपूर्ति सहज छैन। ‘पहिलाजस्तो सजिलो आपूर्ति छैन, अप्रत्यक्ष कडाइ छ,’ गजुरेलले भने, ‘पहिला जस्तै यसपालि पनि प्रतिबन्ध गर्छ कि भन्ने शंका छ।’

बजारमा चरम अभाव हुन नदिन व्यवसायीले सरकारलाई ‘जीटुजी’ (सरकार–सरकारबीच) च्यानलमार्फत आपूर्ति गर्न सुझाव दिएका छन्। ‘नत्र हामीकहाँ सप्लाई अनब्यालेन्स हुन्छ, यसमा राज्यले नै कूटनीतिक पहल गर्नुपर्ने हुन्छ,’ गजुरेलले भने।

भारतीय बजारमा एक सातामै ४० प्रतिशतसम्म मूल्यवृद्धि भइसकेको छ। नयाँदिल्ली, मुम्बई र कोलकाता जस्ता सहरमा प्याजको खुद्रा मूल्य किलोको ८० देखि ९६ रुपैयाँसम्म पुगेको छ। भारी वर्षाले ढुवानीमा अवरोध र नयाँ बाली भित्रिन ढिलाइले अभाव थपिएको हो।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना भने चाडपर्व नजिकिँदै गर्दा व्यापारीले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएको आरोप लगाएका छन्। ‘विगतमा पनि ठ्याक्कै चाडपर्वको मुखमा, खपत बढी हुने बेला विभिन्न बहानामा भारतले कृत्रिम अभाव सिर्जना गर्ने र हाम्रा व्यवसायीले ल्याएर लुकाउने गरेका छन्,’ तिमल्सिनाले भने, ‘छोटो समयमै किलोमा ४० प्रतिशत मूल्य बढ्नु भनेको त निकै ठूलो वृद्धि हो।’ बजार नियन्त्रणमा स्थानीय र संघीय सरकार चुकेको उनको भनाइ छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार