प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यस्तै, चार संसदीय समितिको बैठक पनि बस्दैछन्। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक तय भएको हो।
बिहान १० बजे बस्ने अर्थसमितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुनेछ। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गरिनेछ। यस बैठकमा अर्थमन्त्री, अर्थ सचिव र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:१५ बजे बस्नेछ। यस बैठकमा नेपालमा स्वदेशी र वैदेशिक, निजी र सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, लगानी सम्मेलनको व्यवस्थापन, र लगानी वातावरण सुधारका लागि नीतिगत एवं कानुनी सुधारलगायत विषयमा छलफल गरिनेछ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११:३० बजे बस्नेछ। बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञसँग छलफल गरिनेछ।
