NM Khabar 18 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राहदानी खरिद प्रकरण: अख्तियारले आरजु राणा देउवालाई बयानका लागि बोलायो

राहदानी खरिद प्रक्रियामा भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगको टोलीले बूढानीलकण्ठस्थित निवासमा म्याद टाँसेको छ। राणा हाल उपचारका लागि विदेशमा छिन्।
Arjun Basnet
Arjun Basnet
18 June 2026, 3:47 pm १ मिनेट पढाइ
आकार:
आरजु राणा अख्तियार बयान
Share:

राहदानी खरिद प्रक्रियामा भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगको टोलीले बूढानीलकण्ठस्थित निवासमा म्याद टाँसेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम १४ अनुसार जारी सूचनामा तीन दिनभित्र टंगालस्थित आयोगको कार्यालयमा उपस्थित हुन निर्देशन छ।

राणा हाल उपचारका लागि विदेशमा रहेकाले आयोगले जनप्रतिनिधिको रोहबरमा घरमा म्याद टाँसेको हो। राहदानी छपाइको ठेक्का प्रक्रियामा अनियमितता भएको उजुरीका आधारमा राणासँग बयान लिन लागिएको हो।

यस प्रकरणमा आयोगले यसअघि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिइसकेको छ। उनीहरूविरुद्ध विशेष अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको छ। अनुसन्धान क्रममा तत्कालीन मन्त्री राणाको समेत संलग्नता देखिएपछि बयानका लागि बोलाइएको हो।

सार्वजनिक सूचनामा भनिएको छ, ‘राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईँसँग बयान लिनुपर्ने भएकोले आयोगको महाशाखा नं. १२, कोठा नं. १२ टंगालमा उपस्थित हुन आउनुहोला। नआए कानुन बमोजिम हुनेछ।’

डा. राणा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। हाल उनी हङकङमा छिन्। आयोगले म्याद तामेल गर्दा देउवा परिवारका सदस्य उपस्थित नभए पनि वडाका प्रतिनिधिहरूको रोहबरमा कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ।

यसैबीच, इमेलमार्फत जवाफ दिँदै आरजु राणा देउवाले तीन दिनभित्र आयोगमा उपस्थित हुन नसक्ने बताएकी छन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार