प्रधानमन्त्री बालेन शाहले आज संघीय संसदको बजेट अधिवेशन प्रारम्भ भएसँगै प्रतिनिधिसभामा तीन महत्त्वपूर्ण अध्यादेश पेस गर्नेछन्। दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्नेछ।
संसद् सचिवालयका अनुसार, प्रधानमन्त्री बालेनले तीन अध्यादेश पेस गर्नेछन्। ती हुन्: ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन्। कानुनमन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ प्रस्तुत गर्नेछिन्।
भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछिन्। स्वास्थ्यमन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ प्रस्तुत गर्नेछिन्।
शिक्षा मन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने संसद् सचिवालयले जनाएको छ।
बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको अधिवेशन आह्वान पत्र सुनाउनेछन्। उनले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेर पत्र पनि पढेर सुनाउनेछन्। सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरूको मनोनयन गर्ने कार्यसूची छ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्नेछन्।
आजै दिउँसो २ बजे राष्ट्रियसभाको बैठक पनि बस्नेछ। त्यसपछि अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
