नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज साँझ ५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको २८औँ खेलका रूपमा हुने यो भिडन्तमा दुवै टोलीलाई जित अनिवार्य छ।
पोखरा एभेन्जर्सका लागि यो सिजन निकै चुनौतीपूर्ण बनेको छ। कप्तान कुशल भुर्तेलको नेतृत्वमा रहेको टोलीले ६ खेलमध्ये एकमा मात्र जित दर्ता गर्दै २ अंकसहित अंक तालिकाको आठौँ स्थानमा छ। उनीहरूले सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, चितवन राइनोज र विराटनगर किंग्ससँग हार बेहोरेका छन्। पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको थियो।
अर्कोतर्फ, काठमाडौं गुर्खाजले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरिरहेको छ। कप्तान करण केसीको टोली ६ खेलमा चार जित र दुई हारसहित ८ अंक जोडेर तेस्रो स्थानमा छ। उनीहरूले कर्णाली याक्स, विराटनगर किंग्स, लुम्बिनी लायन्स र चितवन राइनोजलाई पराजित गरेका छन्। यद्यपि, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँगको हारले उनीहरूको शीर्ष स्थानमा पुग्ने यात्रामा केही धक्का दिएको छ।
प्लेअफको दौडमा दुवैलाई दबाब
आजको खेल पोखरा एभेन्जर्सका लागि प्रतियोगितामा आफ्नो अस्तित्व कायम राख्न अन्तिम मौका जस्तै हो। प्लेअफको सम्भावना जीवित राख्न उनीहरूलाई जित अनिवार्य छ। काठमाडौं गुर्खाजका लागि भने शीर्ष दुईमा रहेर प्लेअफमा सहज स्थान बनाउन यो खेलको जित महत्त्वपूर्ण छ। दुवै टोली आजको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन्।