नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज आइतबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। दिउँसो १२:३० बजे सुरु हुने यो खेल दुवै टोलीका लागि अंक तालिकामा आफ्नो स्थिति सुधार्न महत्वपूर्ण छ।
प्रतियोगिताको २७औँ खेलमा मैदान उत्रँदा चितवन राइनोजका कप्तान कुशल मल्ल र कर्णाली याक्सका कप्तान सोमपाल कामीमाथि टोलीलाई जित दिलाउने दबाब छ। यस सिजन चितवनले खेलेका ६ खेलमध्ये ३ मा जित, २ मा हार र १ मा नतिजाविहीन रहँदै ७ अंकका साथ चौथो स्थानमा छ। कर्णाली याक्सले ६ खेलमध्ये २ मा जित र ४ मा हार बेहोर्दै ४ अंकका साथ सातौँ स्थानमा छ।
प्लेअफ दौडमा दुवै टोलीको चुनौती
चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले, पोखरा एभेन्जर्सलाई ३० रनले र जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको थियो। लुम्बिनी लायन्ससँगको खेल नतिजाविहीन बनेको थियो भने सुदूरपश्चिम रोयल्ससँग ५ विकेटले र काठमाडौं गुर्खाजसँग १० रनले पराजित भएको थियो।
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले र विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो। यद्यपि, काठमाडौं गुर्खाजसँग ४ विकेटले, सुदूरपश्चिम रोयल्ससँग ३९ रनले, पोखरा एभेन्जर्ससँग ६३ रनले र लुम्बिनी लायन्ससँग ४ विकेटले पराजय भोगेको छ। प्लेअफमा पुग्नका लागि दुवै टोलीलाई अबका खेलमा उत्कृष्ट प्रदर्शन गर्नु अनिवार्य छ।
आजको खेलमा जित हात पार्ने टोलीले अंक तालिकामा केही राहत पाउनेछ भने पराजित हुने टोलीलाई थप दबाब पर्नेछ।