पोखरा महानगरपालिका–२१ स्थित फोहोर विसर्जनस्थलमा बिहीवार बिहान तीनवटा ग्रिनेड बम फेला परेका छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
महानगरका विभिन्न क्षेत्रबाट संकलित फोहोरमा कवाडी वस्तु खोज्ने क्रममा रिमा शेर्पाले बम फेला पारेकी हुन्। पोखरा–१७ का रातोपैह्रा र पर्वतीय संग्रहालय आसपासबाट ल्याइएको ग १ ख ५४३७ नम्बरको गाडीको फोहोरमा ती बम भेटिएका थिए।
शेर्पाले बोराभित्रका शंकास्पद वस्तु चलाउन खोज्दा एस्काभेटर चालकले देखेर तत्काल सुरक्षित राख्न लगाएका थिए।
वडा प्रहरी कार्यालय बैदामको टोलीले घटनास्थल नियन्त्रणमा लिएको छ। फेला परेका ग्रिनेड निष्क्रिय पार्न नेपाली सेनालाई खबर गरिएको छ।
फोहोरमा विष्फोटक कसरी आइपुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
