ताजा अपडेट: पृथ्वी राजमार्गको धादिङ खण्डमा ग्यास बुलेट पल्टियो, सडक २० मिटर भासियो
धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा पृथ्वी राजमार्गको करिब २० मिटर सडक भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। केही समयदेखि चर्किएको सो खण्ड थप भासिएको हो।
सडक भासिएर त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। मोटरसाइकलसमेत पार हुन नसक्ने गरी सडक भासिएको प्रहरीले जानकारी दिएको छ।
धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाका अनुसार सडक कुनासम्मै चर्किएकाले थप पहिरो जाने र भासिने जोखिम बढेको छ। यसअघि सो खण्डमा झन्डै १०० मिटर भाग चर्किएको थियो।
सडक अवरुद्ध हुँदा सम्पूर्ण सवारी साधन बाटोमै रोकिएका छन्। सडक खुलाउन प्रहरी परिचालन गरिएको छ भने डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।
ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाइएको छ। सडक कहिलेसम्म खुल्छ भन्नेबारे यकिन जानकारी आइसकेको छैन।
जोखिम व्यवस्थापन तथा डाइभर्सन वा मर्मतको विकल्पबारे छलफल भइरहेको छ। यसअघि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगले त्रिशूलीपारितर्फ वैकल्पिक मार्ग निर्माणका लागि अध्ययन गर्न नेपाल जियोटेक्निकल सोसाइटीलाई जिम्मेवारी दिएको थियो।
यसअघि: धादिङको गलौँदीमा पृथ्वीराजमार्ग भासियो, काठमाडौं–मुग्लिन सडक अवरुद्ध
