इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ। विशेष सरकारी वकिल कार्यालयले बिहीबार यो मुद्दा दर्ता गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र बिमा प्राधिकरणबाट प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न सिफारिस गरेको थियो। यसैगरी, भट्ट अग्रवालविरुद्ध बिहीबार नै बैंकिङ कसुरमा करिब ४२ करोड रुपैयाँ बिगो दाबी गर्दै छुट्टै मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण ऐन अनुसार विभागले इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाल र उनकी पत्नी सुभी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष शाहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन रि–इस्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचान, दीपक वंशल र भारतीय नागरिक उपेन्द्र हिरावतलगायतलाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो।
विभागले ‘बिमा ऐन २०७९ को दफा १४० को कसुरसमेतका कसुरजन्य कार्य गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार र अन्य क्षेत्रमा लगानी गरी कसुरबाट प्राप्त सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छुप्ने, स्वरूप, सही प्रकृति छुप्ने, बदल्नेसमेतका सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ (१) को खण्ड (क), (ख) र (ग) ले निषेधित कार्यहरू गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको’ आरोपमा मुद्दा चलाउन सिफारिस गरेको थियो।
