रसुवामा भोटेकोशी नदीमा आएको बाढीले रोजगारीका लागि पुगेका झापाका १२ जनालाई बगाएको छ। बाढीले सम्पर्क टुटेपछि परिवारजन चिन्तित हुँदै खबरको प्रतीक्षा गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सम्पर्कविहीन हुनेमा १० जना झापाका, एक जना इलामका र एक जना सप्तरीका छन्। उनीहरू जलविद्युत् आयोजना तथा निर्माण कम्पनीमा कार्यरत थिए।
बुद्धशान्ति–२, झापाका राजकुमार दियाली, उनकी श्रीमती श्रुती र चार वर्षीय छोरा श्रीराजसहित मेचीनगर, कनकाई, शिवसताक्षी, गौरीगञ्ज र दमकका बासिन्दा सम्पर्कविहीन छन्। इलामका विनोद राई र सप्तरीका नवीन श्रेष्ठ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा पुगेका अन्य झापालीहरूको समेत खोजी गरिरहेको छ। जोखिममा परेका व्यक्तिबारे जानकारी भए प्रहरी, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न आग्रह गरिएको छ।
यसैबीच, बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा नेपाल टेलिकमले दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न प्राविधिक जनशक्ति र उपकरण परिचालन गरेको छ। बाढीले प्रभावित १२० साइटमध्ये ८० वटाको सेवा पुनःसञ्चालनमा आएको टेलिकमले जनाएको छ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार बाढी प्रभावित क्षेत्रमा अवरुद्ध मोबाइल सेवा तत्काल सञ्चालन गर्न हेलिकप्टर प्रयोग गरी प्राविधिक कर्मचारी र उपकरण परिचालन गरिएको छ। भदौ ११ गते हेलिकप्टरमार्फत गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुन्चेको मोबाइल स्टेसन सञ्चालनमा ल्याइएको थियो।
सञ्चालनमा आइसकेका टावरलाई भरपर्दो बनाउन प्राविधिक काम भइरहेको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ को गोल्जुङ टावर सञ्चालनमा आएपछि स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका ४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिका ३ र ५ का केही क्षेत्रमा मोबाइल सेवा पुनःसञ्चालन भएको छ। नुवाकोटको सूर्यगढी गाउँपालिका ३ को गेर्खु मोबाइल टावर सञ्चालनमा आएपछि विदुर नगरपालिका १० र ११ तथा सूर्यगढी गाउँपालिका ४ का केही भागमा दूरसञ्चार सेवा पुनःसञ्चालन भएको छ।
बाढीबाट प्रभावित बाँकी साइटमा समेत सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन भइरहेको टेलिकमले जनाएको छ। विपद्मा नागरिकको सञ्चार आवश्यकता सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको टेलिकमले बताएको छ।
यसैबीच, पद्म ज्योति समूहले बाढी प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ। समूहले कठिन घडीमा बाढी प्रभावितप्रति गहिरो संवेदना व्यक्त गर्दै शीघ्र पुनर्स्थापनाको कामना गरेको छ।
