अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षमा करिब १६ खर्ब राजस्व संकलन गर्ने लक्ष्य बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले आगामी पाँच वर्षको अवधिलाई दृष्टिगत गरी बजेट ल्याइएको जानकारी दिए।
उनले आगामी आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) ७४ खर्ब ५८ अर्ब पुग्ने प्रक्षेपण गरिएको बताए। यस आधारमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सकिने उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले कुल ग्राहस्थ उत्पादनको तुलनामा ऋण ४३ प्रतिशतभन्दा बढी नहुने दाबी गरे। आगामी बजेटमा पुराना कार्यक्रमको दायित्वलाई सरकारले निरन्तरता दिने उनले जानकारी दिए।
विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) बाट सरकार पछाडि नहट्ने बताउँदै उनले अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको स्पष्ट पारे।
मन्त्री वाग्लेले आयमा आधारित करभन्दा उपभोगमा आधारित कर प्रभावकारी हुने र त्यसबाट उपलब्धि हासिल गर्न सकिने भएकाले सोहीअनुसार कार्यक्रम अगाडि बढाइएको बताए।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले वैदेशिक मुद्रा सञ्चितिको आधार विप्रेषण भएको र यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड दिनुपर्ने धारणा राखे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठ र सङ्घका अध्यक्ष मेनुका कार्कीले बजेटको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएका छन्।
