दसैँको दिन सर्लाहीको गोडैता नगरपालिका–६, बगदहटोलस्थित उखुबारीमा १३ वर्षीया बालिका मौसम कुमारी राउतको घाँटी रेटेर विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ। स्थानीय लालबाबु राउतकी छोरी मौसम कुमारी बुधबार बिहान करिब १० बजे उखुको पात काट्न घरबाट खेततर्फ गएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता इन्सपेक्टर किशोर केसीका अनुसार, साँझ स्थानीयले उखुबारीमा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक केसीले बालिकाको घाँटीमा धारिलो हतियारले काटेको र घटनाको प्रकृति हेर्दा हत्या गरिएको पुष्टि गरे।
गोडैता नगरपालिका–६ का वडाध्यक्ष सचिन्द्र महतोले पनि बालिकाको शव उखुबारीमा मृत अवस्थामा फेला परेको बताएका छन्। प्रहरीले मृतक बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवामा राखेको छ। घटनाबारे अनुसन्धान भइरहेको र दोषीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
