सर्लाहीमा सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रामक सूचना सम्प्रेषण गरी सार्वजनिक शान्ति र सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले राम प्रवेश राय यादवलाई नियन्त्रणमा लिएको छ। धनकौल गाउँपालिका–२ का यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ‘मुकेश कुमार यादव समर्थक’ नामक फेसबुक प्रोफाइलबाट सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने भ्रामक भिडियो र झुट्टा समाचार सम्प्रेषण भएको पाइएको थियो।
प्रहरीको नियमित निगरानीका क्रममा साउन १३ गते उक्त प्रोफाइलबाट भ्रामक सामग्री सम्प्रेषण भएको पत्ता लागेको थियो। अनुसन्धानबाट सो प्रोफाइल राम प्रवेश राय यादवले नै सञ्चालन गर्ने गरेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यादवको साथबाट भ्रामक सामग्री सम्प्रेषण गर्न प्रयोग गरिएको मोबाइलसमेत बरामद गरेको छ। प्रारम्भिक सोधपुछका क्रममा यादवले उक्त भ्रामक भिडियो आफ्नै फेसबुक आईडीबाट सम्प्रेषण गरेको स्वीकार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद प्रसाद गौतमले यादवमाथि विद्युतीय कारोबार सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए।
