अमेरिकी अर्बपति एलन मस्कको अन्तरिक्ष उडान कम्पनी स्पेसएक्सले २०२६ को तेस्रो त्रैमासिकमा ४ अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनी १ अर्ब १० करोड डलर घाटामा थियो। मस्कले आफ्नो अर्को कम्पनी टेस्लासँग स्पेसएक्सलाई गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्।
जुलाईदेखि सेप्टेम्बरसम्मको यस अवधिमा स्पेसएक्सको कुल आम्दानी १६१ प्रतिशतले बढेर १४ अर्ब ६० करोड डलर पुगेको छ। कम्पनीको आम्दानीमा भएको यो वृद्धि एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सेवा र कम्प्युटिङ क्षमता भाडामा दिने सम्झौताका कारण भएको हो।
एआई एकाइको आम्दानी नौ गुणा वृद्धि
स्पेसएक्सको सुपर इन्टेलिजेन्स (एआई) एकाइको आम्दानी नौ गुणा बढेर ७ अर्ब ६० करोड डलर पुगेको छ। यो कुल आम्दानीको ५१.९ प्रतिशत हो, जसले स्टारलिङ्क र रकेट व्यवसायलाई पछि पारेको छ। कम्पनीले एआई पूर्वाधार विस्तारमा ठूलो लगानी गरिरहेको छ। २०२६ को तेस्रो त्रैमासिकमा १९ अर्ब ६० करोड डलर पुँजीगत खर्च भएको थियो, जसमध्ये १६ अर्ब ४० करोड डलर एआई पूर्वाधार विस्तारमा खर्च भयो।
मस्कले सन् २०२७ मा थप १० गिगावाट कम्प्युटिङ क्षमता सञ्चालनमा ल्याउने लक्ष्य राखेका छन्।
स्टारलिङ्कको आम्दानी र ग्राहक विस्तार
स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कको आम्दानी ६९ प्रतिशतले बढेर ५ अर्ब २० करोड डलर पुगेको छ। अक्टोबर २०, २०२६ सम्ममा यसका ग्राहकको संख्या १ करोड ३६ लाख पुगेको छ।
कम्पनीले सेप्टेम्बर २८, २०२६ मा स्टारसिप रकेटबाट पहिलो आम्दानी दिने उडान सफलतापूर्वक पूरा गरेको छ। यस उडानमार्फत २६ वटा नयाँ पुस्ताका स्टारलिङ्क V3 उपग्रहहरू पृथ्वीको कक्षमा स्थापना गरिएको थियो। स्पेसएक्सले अर्को महिना (नोभेम्बर २०२६) स्टारसिपको १५ औं उडानमा रकेटको दुवै चरणलाई सफलतापूर्वक अवतरण गराउने प्रयास गर्नेछ।
टेस्ला र स्पेसएक्स मर्जरको प्रस्ताव
एलन मस्कले टेस्ला र स्पेसएक्स कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। उनका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेको छ। मस्कले स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताएका छन्।
यो सम्झौता हुने निश्चित नभएको र यसका लागि टेस्लाका शेयरधनीहरूको व्यापक समर्थन आवश्यक पर्नेछ। मर्जरका लागि कुल बकाया शेयरको ५० प्रतिशतको अनुमोदन आवश्यक हुन्छ। मर्जरका सर्तहरूमा विशेष समितिहरूले अझै सहमति जनाएका छैनन्।