नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। यो जितसँगै सुदूरपश्चिम रोयल्स ६ खेलबाट ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो। सुदूरपश्चिमका लागि ब्रान्डन मकमुलनले २३ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए। यस्तै, थारिन्दु रत्नायकेले अविजित २७ रन र आरिफ शेखले ११ रनको योगदान दिए। जनकपुरका बलर हरमीत सिंहले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए भने अभिषेक तिवारीले १ विकेट हात पारे।
स्कट कुगेलीजिनको घातक बलिङ
१२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.५ ओभरमा ९३ रनमै अलआउट भयो। जनकपुरका लागि त्रित राज दासले सर्वाधिक २१ रन बनाए। जेम्स नीशमले २० रन र राहुल यादवले ११ रन जोडे। सुदूरपश्चिमका बलर स्कट कुगेलीजिनले ४ ओभरमा १३ रन दिएर ३ महत्वपूर्ण विकेट लिए। यस्तै, थारिन्दु रत्नायकेले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिएर अलराउन्ड प्रदर्शन गरे।
जनकपुर बोल्ट्स ६ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा यथावत् छ।