काठमाडौं उपत्यकाका नदी किनार र सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने अभियानले पूर्णता पाएको छ। सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको यो अभियान अन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजु लगायतका क्षेत्रका अव्यवस्थित बस्ती हटाइएको छ।
बस्ती हटाइएका स्थानहरू अहिले पूर्ण रूपमा खुला र खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूप परिवर्तन भएको छ।
बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकता दिँदै सम्बन्धित निकायहरूले खाली स्थानको संरक्षण र व्यवस्थापनका लागि काम अघि बढाएका छन्।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा खाली क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन, नदी किनार व्यवस्थापन र पुनः अतिक्रमण रोक्न आवश्यक संरचना निर्माण तथा निगरानी सञ्चालन गरिरहेका छन्।
नदी किनार र सार्वजनिक जग्गाको दीर्घकालीन संरक्षणका लागि तारबार, वृक्षारोपण, पैदलमार्ग निर्माण, सौन्दर्यीकरण र नियमित अनुगमन कार्यान्वयनमा ल्याइएको छ। खाली गरिएका क्षेत्रमा पुनः अवैध बसोबास हुन नदिन सुरक्षा र निगरानी व्यवस्था कडा पारिएको छ।
सरकारी निकायहरूले नदी प्रणालीको संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने र सार्वजनिक सम्पत्तिको उचित उपयोग सुनिश्चित गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिने बताएका छन्। खाली क्षेत्रलाई व्यवस्थित सार्वजनिक उपयोगमा ल्याउने र उपत्यकाको शहरी वातावरण सुधार गर्ने लक्ष्यका साथ सम्बन्धित निकायहरू सक्रिय छन्।
