सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा शनिबार साँझ गोली चलेको छ। सोही ठाउँका १९ वर्षीय निरज यादवको तिघ्रामा गोली लागेर उनी गम्भीर घाइते भएका छन्।
गाउँपालिका अध्यक्ष वेचन मेहताका अनुसार घाइते यादवको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ। घटनालगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रत्यक्षदर्शीका अनुसार घटनामा संलग्न अन्य छ जना फरार छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गरेका छन्।
यसअघि गत साउन १० गते देवानगञ्ज-३ को कप्तानगञ्जमा दुई पक्षबीचको झडपले उग्र रूप लिएको थियो। प्रहरीले नियन्त्रणका लागि चलाएको गोली लागेर ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको ज्यान गएको थियो।
उक्त झडपको मुख्य कारण धार्मिक विवाद थियो। असार १४ गते मुस्लिम समुदायले मोहर्रम मेलामा झण्डा गाडेका थिए। साउनमा हिन्दु समुदायले बोलबम अवसरमा सोही स्थानमा झण्डा गाडेपछि विवाद सुरु भएको थियो। बोलबम जाने युवाले मन्दिरमा ठूलो आवाजमा ‘डिजे’ बजाएपछि विवाद झडपमा परिणत भएको थियो।
शान्त बन्दै गएको कप्तानगञ्जमा फेरि गोली चल्नुले स्थानीय बासिन्दा त्रसित बनेका छन्। सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ।
