पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, थारु टोलमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको छ। आइतबार दिउँसो करिब ३:३० बजे सादा पोसाक र हतियारसहित ठूलो संख्यामा एसएसबीका सुरक्षाकर्मी नेपाली भूभागमा प्रवेश गरेका थिए। उनीहरूले करिब १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काएका हुन्।
वर्षायाममा बस्ती जोगाउन स्थानीयले उक्त बाँध निर्माण गरिरहेका थिए। एसएसबीले बाँध भत्काउन थालेपछि स्थानीयले विरोध जनाएका थिए। हतियारसहित रहेका सुरक्षाकर्मीलाई रोक्न नसकिएको स्थानीयको भनाइ छ। सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले सीमा छुट्याउने सिमलको रुखभन्दा करिब ३०० मिटर नेपालतर्फ पसेर एसएसबीले बाँध भत्काएको दाबी गरे।
सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रवीन्द्र जैसवालले पनि भारतीय पक्षले बाँध भत्काएपछि विवाद उत्पन्न भएको बताए। वर्षाको भेल रोक्न शनिबार माटो राखेर बाँध निर्माण सुरु गरिएको थियो। भारतीय पक्षले यसअघिदेखि नै बाँध निर्माणमा अवरोध गर्दै आएको थियो।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले अस्थायी बाँधका विषयमा विवाद भएको पुष्टि गरे। उनले विवाद साम्य पार्न सशस्त्र प्रहरी परिचालन गरिएको र अवस्था सामान्य रहेको बताए। गत असारमा पनि भारतीय सुरक्षाकर्मीले सुस्तामा बाँध निर्माण रोक्न दबाब दिएका थिए। सुस्ता नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्र हो।
