स्थानीय तहको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’ (सूत्र) आज मध्यरातदेखि बन्द हुँदैछ। यसैबीच, नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने जनाएको छ।
महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहको आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको सूत्र प्रणाली मध्यरातबाट बन्द गर्ने घोषणा गरेको छ। उपमहालेखा नियन्त्रक यज्ञप्रसाद ढकालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम १ अनुसार आर्थिक वर्ष समाप्त हुनु सात दिनअगावै भुक्तानी निकासा बन्द गर्नुपर्ने बताए। सोही व्यवस्थाअनुसार प्रणाली बन्द गरिएको हो।
तर, नियमावलीको नियम ३० उपनियम ७ अनुसार २०८३ असार ३२ गतेसम्म हिसाब मिलानका लागि सूत्र प्रणाली सञ्चालनमा रहनेछ। यस अवधिमा अग्रिम आयकर, मूल्य अभिवृद्धि कर, पारिश्रमिक कर, कार्यालय सञ्चालन कोष, नागरिक लगानी कोष, सावधिक जीवन बिमा कोष, योगदानमा आधारित निवृत्तिभरण कोष लगायतका कट्टी भएका दायित्वहरू बैंकमा जम्मा गर्न सकिनेछ।
२०८३ असार २५ गतेसम्म सूत्र प्रणालीबाट ट्रान्सफर रिजेक्ट भएका इएफटीहरूको पुनः भुक्तानी गर्न सकिनेछ। सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानको रकम कोलेनिका तथा प्रलेनिका प्रदेश लेखा एकाइ कार्यालयमा २०८३ असार मसान्तसम्म निकासा फिर्ता गर्न सकिनेछ।
महालेखा नियन्त्रकको कार्यालयले स्थानीय तहको खर्च, राजस्व तथा अन्य खाताबाट सञ्चित कोष खातामा रकम ट्रान्सफर गर्न सक्नेछ।
नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदामा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने जनाएको छ। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले जारी गरेको सूचनाअनुसार, शनिबार र आइतबार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुनेछ। चालु आर्थिक वर्षको अन्तिम भुक्तानी सहज बनाउन राष्ट्र बैंकले यो व्यवस्था गरेको हो।
