NM Khabar 18 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पाँच लाख घुससहित पक्राउ परेका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा दायर

आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एम. एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध अख्तियारले विशेष अदालतमा पाँच लाख रुपैयाँ घुस मागेको आरोपमा मुद्दा दायर गरेको छ। सेवाग्राहीसँग रकम लिने क्रममा उनीहरू पक्राउ परेका थिए।
Arjun Basnet
Arjun Basnet
18 August 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
घुस मुद्दा
Share:

आन्तरिक राजस्व कार्यालय लहान सिरहाका कर अधिकृत युवराज एम. एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा पाँच लाख रुपैयाँ घुस मागेको आरोपमा मुद्दा दायर गरेको छ।

सेवाग्राहीसँग उक्त रकम लिने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर लेखापरीक्षणका क्रममा बिलबिजक तथा कागजात नमिलेको भन्दै पालले सेवाग्राहीलाई दुःख दिएका थिए।

काम मिलाइदिने बहानामा चार्टर्ड एकाउन्टेन्ट यादवमार्फत पालले पाँच लाख रुपैयाँ घुस मागेको उजुरी अख्तियारमा परेको थियो। सोही सूचनाका आधारमा अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले पाललाई घुससहित रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा कर अधिकृत पालले विभिन्न व्यावसायिक फर्म तथा कम्पनीहरूको लेखापरीक्षण र कर निर्धारण गर्ने क्रममा चार्टर्ड एकाउन्टेन्ट यादवसँग मिलेर घुस लिएको पुष्टि भएको छ। अख्तियारले पाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर ठहर गर्दै पाँच लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी गरेको छ।

यस्तै, चार्टर्ड एकाउन्टेन्ट यादवले राष्ट्रसेवक कर्मचारी पालसँग मिलेमतो गरी रकम बार्गेनिङमा सघाएको र सेवाग्राहीलाई घुस दिन दुरुत्साहन गरेको अनुसन्धानबाट खुलेको छ। अख्तियारले यादवविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) बमोजिमको कसुरमा कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गर्दै आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार