दक्षिण कोरिया सरकारले नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न करिब २ अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ। यो सहयोग कोइका मार्फत सन् २०२६ देखि २०३१ सम्म सञ्चालन हुने ६ वर्षे परियोजनामा खर्च गरिनेछ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका कृषि, वन तथा वातावरण मन्त्रालयबीच असार ४ गते परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ। कोइका नेपालका कन्ट्री डाइरेक्टर मुहेअन कोङ र मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले हस्ताक्षर गरेका छन्।
कोइकाले १ अर्ब ८१ करोड रुपैयाँ (१ करोड २० लाख अमेरिकी डलर) उपलब्ध गराउने छ। यो आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबैभन्दा ठूलो परियोजना हो। यो कोइकाको नेपालमा हालसम्मकै ठूलो द्विपक्षीय परियोजना हो।
परियोजना लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिने छ।
आयोजनाले जलवायुमैत्री कृषि प्रविधि, सुदृढ धानको बिउ प्रणाली, सुधारिएको बाली कटानीपछिको व्यवस्थापन र बजार पहुँच विस्तार मार्फत धानको उत्पादकत्व वृद्धि गर्ने लक्ष्य राखेको छ। यसले नेपालको खाद्य सुरक्षा सुदृढ गर्नेछ।
कोइकाले कृषि मन्त्रालय र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरूसँग साझेदारीमा परियोजना कार्यान्वयन गर्ने छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान (इरी) ले प्राविधिक सहयोग गर्नेछन्।
परियोजनाले जलवायु अनुकूलित धानको बिउ प्रणाली बलियो बनाउने छ। यसले नेपालको परिवर्तनशील जलवायु अवस्था अनुसार धानका सुधारिएका जातहरूको प्रसार तीव्रता दिने छ।
